काठमाडौं – रक्त व्यवस्थापन तथा स्वैच्छिक रक्तदान प्रवर्द्धनमा सक्रिय सामाजिक संस्था ब्लड फर नेपाल ले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा “८ वर्ष, ११ कार्यक्रम” अभियानअन्तर्गत देशभर एकैसाथ रक्तदान तथा रक्त सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।
संस्थाका अनुसार साउन ५ गते (जुलाई २१, २०२६) देशका विभिन्न स्थानमा एकै दिन रक्तदान तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिनेछ। अभियानअन्तर्गत काठमाडौं उपत्यका तथा ललितपुरको सानेपामा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ भने कोशी प्रदेशको धुलाबारी (झापा), मधेश प्रदेशको लहान (सिरहा), जनकपुर (धनुषा), जलेश्वर (महोत्तरी) र वीरगञ्ज (पर्सा), बागमती प्रदेशको हेटौंडा (मकवानपुर), गण्डकी प्रदेशको पोखरा (कास्की), लुम्बिनी प्रदेशको घोराही (दाङ), कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको भीमदत्त (कञ्चनपुर) मा “रगतका कुरा” शीर्षकअन्तर्गत रक्त सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।




ब्लड फर नेपालका सचिव भवानी साहका अनुसार अभियानको मुख्य उद्देश्य नियमित स्वैच्छिक रक्तदानको संस्कृतिको विकास गर्नु, रगत व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु तथा समुदायलाई रक्तदान अभियानमा सक्रिय सहभागिताका लागि प्रेरित गर्नु हो। रक्त अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने सन्देश समाजमा प्रवाह गर्नु अभियानको अर्को प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो।
संस्थाले स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र, अस्पताल, शैक्षिक संस्था, युवा समूह, स्वयंसेवक, सञ्चारकर्मी तथा आम नागरिकलाई कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाई मानवताको यस अभियानलाई सफल बनाउन आग्रह गरेको छ।

सन् २०१८ देखि रक्त व्यवस्थापन, स्वैच्छिक रक्तदान प्रवर्द्धन तथा जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको ब्लड फर नेपालले हालसम्म २६ हजारभन्दा बढी रगत व्यवस्थापनसम्बन्धी अनुरोधको सहजीकरण गरेको जनाएको छ। त्यसैगरी सात हजारभन्दा बढी पिन्ट रगत सङ्कलन तथा देशभर २६५ भन्दा बढी रक्त सचेतना कार्यक्रम सम्पन्न गरिसकेको संस्थाले जनाएको छ।
संस्थापक तथा अध्यक्ष सरोज कुमार महतोले आठ वर्षको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, साझेदार संस्था, स्वास्थ्यकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले आगामी दिनमा नियमित स्वैच्छिक रक्तदानको संस्कृतिको विकासमा अझ प्रभावकारी ढङ्गले काम गर्ने तथा रगत व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत तहमा समेत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विगतमा जस्तै आगामी दिनमा पनि सबै पक्षबाट निरन्तर साथ, सहयोग र विश्वास प्राप्त हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो।












