
जनकपुरधाम - संसार कै सबैभन्दा लामो धार्मिक पदयात्राको रूपमा चिनिएको १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाका सहभागीहरू बिहीबार जनकपुरधाममा पुगेका छन्। परिक्रमाका सहभागीहरूले शुक्रबार बिहान जनकपुरधामको आन्तरिक परिक्रमा गरेपछि यो परिक्रमाको औपचारिक समापन हुनेछ।
परिक्रमाको समाप्ति पछि जनकपुरधाममा होलीको पर्व मनाउने परम्परा रहेको छ। भारतको कलानेश्वरमा रेखा खिचेर घुम्ती संकल्प गरेका सहभागीहरूले बिहीबार बिहान त्यहाँ खिचेको रेखा मेटाएर जनकपुरधाममा आइपुगेका जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास बैष्णवले जानकारी दिए। जनकपुरधाम पुगेका सहभागीहरूले रङभूमि मैदान, तिरहुतिया गाछी, र रामजानकी मन्दिरको आँगनमा विश्राम गरेका छन्। उनीहरूले जनकपुरधामका गङ्गासागर र धनुष सागर पोखरीमा स्नान गरेर जानकी मन्दिर र अन्य मठमन्दिरमा पूजाअर्चना गरेका छन्।

फागुन कृष्णपक्षको औंसी तिथिमा मिथिला बिहारी मन्दिरबाट निकालिएको भगवान् रामको डोला र जनकपुरधामका सुन्दर सदनबाट निकालिएको माता सीताको डोला फागु पूर्णिमामा जनकपुरधाममा आएको हो। यो पदयात्रामा सहभागीहरूले नेपालमा ११ र भारतमा ४ विश्रामस्थलमा विश्राम गर्दै नेपाल ९० र भारतको ३० गरी जम्मा १२० किलोमिटरको यात्रा खाली खुट्टा तय गर्दै जनकपुरधाम आइपुगेको हो । यस परिक्रमामा साधु सन्तका साथै हजारौं सर्वसाधारणको सहभागिता रहेको छ। जनकपुरधाममा विभिन्न स्थानहरूमा परिक्रमामा सहभागीहरूको स्वागत गरिएको छ।
त्यस्तै, सहभागीहरूको ख्याल गर्दै विभिन्न संस्थाहरूले निःशुल्क भोजन र स्वास्थ्य शिविरको आयोजना गरेका छन्। नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजिव झा ले १५ दिनको अवधिमा विश्राम स्थलहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी गराएका छन् । यसबाहेक, परिक्रमाका सहभागीहरूको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले जनकपुरधामको सुरक्षा व्यवस्थामा सुधार गरेको छ।