
जनकपुरधाम - कसैलाई मुर्ख, महामुर्ख भन्दा रिसाउने गाली गर्ने गरेको हुन्छ तर यहाँ आफूलाई महामुर्ख साबित गर्न तछाडमछाड हुने गरेको सुन्दा अचम्म लाग्न सक्छ । तर मिथिलाको यस शहरमा महामुर्ख बन्न सबै ललायित हुने गर्दछ । हो प्राचिन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामुर्ख साबित गर्नको लागि प्रत्येक वर्ष उच्च पदस्थ व्यक्तित्वहरुले पैरवी तथा सिफारिस आयोजक समक्ष गर्ने गरिएको बताइन्छ ।
होली पर्वको अवसरमा मिथिला नाटयकला परिषद (मिनाप) जनकपुरधामले प्रत्येक वर्ष धुमधामसंग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सव अन्तर्गत आयोजना गरिने महामुर्ख सम्मेलनको लागि महामुर्खहरुको लिस्ट तयार भई सकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताए ।

होलीको अवसरमा जनकपुरमा आयोजना गरिने महामुर्ख सम्मेलन देशैभरी प्रसिद्ध छन् । मिथिला क्षेत्रको सांँस्कृतिक अभियानमा अग्रणी भुमिका खेलेको दावी गर्ने मिथिला नाटय कला परिषद (मिनाप) यसका आयोजक हुन् ।
मिनापले मिथिला क्षेत्रवाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक बर्ष छनौट गरेर महामुर्ख सहित विभिन्न १५ प्रकारका व्यंगात्मक पदवी वाट समाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चीत छन् ।
मिथिला नाटय कला परिषदकै भनाइलाई यदी सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई वर्षै पिच्छै छनौट गरेर यो पदवीवाट समाजिक सम्मान दिने चलन छ ।
आपसी भाईचाराको रुपमा लिईएको होली पर्वलाई जनकपुरधाममा हिन्दुसंगै मुश्लिम युवाहरुले पनि संगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिदै आएका छन् ।

मिथिलामा वसन्त पंचमीको आगमनसंगै होली गित गाउन शुरु गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गित गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २९–३० वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।
फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनाप महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न फागुन २९ गते (आज) र भोली चैत्र १ गते दुई दिवसीय होली महोत्सव आयोजना गरिएको बताए। पहिलो दिन होरी अर्थात फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी भएको मिनापका महासचिव मल्लिकले बताए।
महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जस अन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामुर्खको उपाधी प्रदान गरिन्छ । जस अन्तर्गत महामुर्ख तथा अन्य उपाधीकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरुको माला वनाएर लगाउने प्रचलन रहेको छ ।
यस्तो छ सम्मेलनको इतिहास
महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यसले निकै उचाई पाएको छ । तर यसको प्रारम्भ नेपालको विरगंजबाट भएको हो । मैथिली साहित्य परिषद विरगंज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए ।
यो सम्मेलनको परिकल्पनाकार मध्ये एक रहेका मैथिली साहित्य परिषदका पूर्व महासचिव एवं चर्चित पत्रकार चन्द्र किशोर झा बताउँछन्, “नेपालमा २०४६ सालमा बहुदल आएको थियो । राजनीतिक रुपमा परिवर्तनको समय थियो । यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरुको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो कन्सेप्ट आएको थियो ।” समाजमा रहेको विकृति विसंगतिलाई समाप्त गर्न ब्यंग्यले निकै ठूलो भूमिका खेल्ने गर्छ झाले थपे । विरगंजमा अब होरी मिलन समारोह महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ । महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिले देखिनै हुँदै आएको छ ।

विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा.विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।
विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो ।
त्यस्तै विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा अर्थविद डा भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो भने २०७९ को महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई प्रदान गरिएको थियो भने २०८१ को महामुर्खको उपाधी मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको थियो ।
यसरी छनौट गरीन्छ महामूर्ख ?
महामूर्खको छनौट कसरी हुन्छ धेरैको उत्सुकताको विषय हुनसक्छ । सहीमा कम मेहनतको कुरो होइन धेरै दिमाग खियाउनु पर्छ आयोजकहरु बताउँछन् । महामूर्ख सम्मेलनको आयोजक मिथिला नाट्यकला परिषदका पूर्व अध्यक्ष मदन ठाकुर बताउँछन्, “महामूर्खको छनौटका लागि तयारी आयोजनासँग खोजी शुरु भइहाल्छ । यसका लागि एक कमिटी गठन गरिन्छ । त्यसैले निर्णय गर्दै आएको छ । केही व्यक्ति महामूर्ख बन्नका लागि कसेर लागेको हुन्छ ।”
जनकपुरधामको स्थानीय पत्रिकाहरु एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाउँमा चर्चा चलाएको हुन्छ ।
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राजेश कर्ण बताउँछन्, “महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो । यसलाई मिडियाले क्यास नगर्ने कुरै आउँदैन । फेरी मिडियामा चर्चा भएपछि कार्यक्रको आकर्षण बढने गर्छ । समान्यतया धेरैलाई लाग्नसक्छ महामूर्ख को बन्छ ? तर आश्चर्यको कुरो यो रहेको छ धेरै कामना गरिरहन्छ यसपाली म महामूर्ख बनु ।”
२०६५ सालका महामूर्खक उपाधि प्राप्तकर्ता एवं मैथिलीक बरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमल भन्छन्, “उपाधि प्राप्त गर्नु आफैमा ठूलो उपलब्धि रहेको छ, प्रेमले मानिस हरेकथोक अर्थात विषपनि पिउने गरेको इतिहास रहेको छ । यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो ।”
को बन्लान् यस वर्षको महामूर्ख ?
मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष महामूर्ख सहित १५ जनालाई १५ वटा पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोही अनुरूप यस वर्ष पनि यस पदवीका लागि विभिन्न आकांक्षीको नाम चर्चामा रहेको छ ।

मिनापका महासचिव शैलेन्द्र मल्लिकले मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह लगायत विभिन्न सांसद तथा समाजिक अभियन्ताहरुको नाम चर्चामा रहेको बताए ।उनले भने, “छनौट समितिले लगभग सबै तयारी गरिसकेको छ, अब भोली हुने महामुर्ख सम्मेलनमा नै नाम घोषणा गरिन्छ, अहिले यसलाई रहस्य मै राख्नु उचित हुन्छ।”-रासस