
जनकपुर- जनकपुरधाममा उल्लासपूर्ण रुपमा होली मनाइएको छ । स्थानीयवासीहरूले एकअर्कालाई रङ लगाएर र खुशी साटासाट गरेर होली मनाएका हुन् ।
होलीका अवसरमा मानिसहरूले विविध रङहरू एकअर्कामाथि हालेर पर्वलाई रमाइलोका साथ मनाउने गरिन्छ । यो पर्व धार्मिक सीमाभन्दा पर गइ उत्साह र सद्भावको रूपमा मनाइन्छ । नेपालीहरू, चाहे जुनसुकै धर्म वा समुदायका हुन्, होलीको अवसरमा एउटै आँगनमा भेला भएर उल्लासपूर्वक रमाउँछन् ।

तराईका अन्य जिल्लाहरूमा होली (हिजो) शुक्रवार नै सम्पन्न भएपनि जनकपुरधाममा भने एक दिन ढिलोगरी मनाइन्छ । यसको मुख्य कारण मिथिला परिक्रमा उत्सव हो । जसका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको छ ।

नगरका विभिन्न स्थानहरूमा मटकाफोर, जोगिरा गायन जस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका छन्। विशेष रूपमा मनाइने जनकपुरधामको होली हेर्न देश–विदेशका पर्यटकहरू पनि ठूलो संख्यामा आउने गर्दछन् ।

