
महोत्तरी - सोनमा गाउँपालिकाको माध्यमिक विद्यालय खखना लोटना एसईई परीक्षा केन्द्रका परीक्षार्थीका साथबाट ठूलो मात्रामा गेसपेपर, चिट र उत्तर लेखिएका फ्लाप बोर्ड बरामद भएको छ ।
परीक्षा सुरु भएको केहीबेरमै परीक्षा केन्द्रमा अंग्रेजी विषयको प्रश्नको जवाफ लेखिएको फ्लाप र कम्प्युटर टाइप भएको फोटोकापी विद्यार्थीहरुको हातहतमा पुगेको थियो । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने नेतृत्वमा खटिएको अनुमगन टोलीले ठूलो मात्रामा चिट बरामद गरेको हो ।
विद्यार्थीलाई बाहिरबाट फ्लाप दिँदा सुरक्षार्थ खटेका प्रहरीले कुनै अवरोध नगरेको र भित्र परीक्षार्थीले उत्तर सार्दा परीक्षा निरीक्षकले छुट दिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।
केन्द्राध्यक्ष अरुणकुमार यादवले बाहिरबाट चिट ल्याउन सहजताका लागि झ्याल नभएको सडक छेउका कोठामा परीक्षा सञ्चालन गरेको आरोप छ । यादवले परीक्षा केन्द्रबाहिर अभिभावकको भीडले चिट नियन्त्रण गर्न समस्या भएको स्वीकारे ।पर्खालमाथि चढेर झ्यालबाट चिट पुर्याउँदै दृश्य निकैबेर चलिरहेको देखिन्थ्यो । अन्य परीक्षा केन्द्रको परीक्षा विगतभन्दा मर्यादित भए पनि खखना केन्द्रमा सुधार नभएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।
महोत्तरीमा ३२ परीक्षा केन्द्रमा ११ हजार १ सय ६१ जना परीक्षार्थी सहभागी छन् । परीक्षा अमार्यादित मनाउनेलाई कारबाही थालिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।