
इन्डियन प्रिमियर लिग (आइपिएल)को १८औँ संस्करण आजबाट सुरु हुँदै छ । उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) भिड्नेछन् । घरेलु मैदानमा कोलकाता आरसिबीलाई हराउने दाउमा छ । आरसिबी पनि नयाँ कप्तानका साथ विजयी सुरुवात गर्ने दाउमा छ । उद्घाटन खेलअघि दुई टिमको हेड टु हेड हेर्दा आरसिबीभन्दा कोलकाता निकै बलियो देखिन्छ ।
पछिल्लो पाँचमध्ये चार खेलमा कोलकाता विजयी भएको छ । पछिल्लो तीन वर्षमा आरसिबीले एक खेल मात्रै जितेको छ । आयोजकले २५ मेमा हुने फाइनलअघि यस वर्ष प्रतियोगितालाई फरक बनाउने कोसिस गरेको छ । खेलाडीलाई हरेक खेलको भत्ता दिइनेछ । जुन लिलामीमा भएको मूल्यभन्दा फरक हुनेछ । यो भारतीय खेलाडीलाई मात्रै नभएर विदेशीलाई पनि हुनेछ । मेगा अक्सनबाट पन्जाब किंग्समा सबैभन्दा बढी २१ नयाँ खेलाडी रहेका छन् । कोलकातामा सबैभन्दा कम नयाँ खेलाडी आठजना मात्रै रहेका छन् । मेगा अक्सनमा १० टिमले ६३९.१५ करोड भारु खर्च गरे । जसमा एक सय ८२ खेलाडी किनबेच भएका थिए, जसमा भारतीय एक सय २० तथा विदेशी ६२ खेलाडी छन् ।
नयाँ पाँच कप्तान
यसपटक लिगमा पाँच कप्तान परिवर्तन भएका छन् । सहभागी १० मध्ये नौ कप्तान भारतीय छन् । सन् २०१९ पछि एक मात्रै टिममा विदेशी कप्तान छन् । हैदराबादले कप्तानमा प्याट कमिन्सलाई जिम्मेवारी दिएको छ । १० कप्तानको उमेर औसतमा ३० वर्ष छ । गुजरातका कप्तान शुभमन गिलको उमेर सबैभन्दा कम २५ वर्ष छ भने कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्या रहानेको उमेर सबैभन्दा बढी ३६ वर्ष छ ।
१. अक्षर पटेल (दिल्ली क्यापिटल्स)
दिल्ली क्यापिटल्सले अक्षर पटेललाई कीर्तिमानी १६.५० करोड भारुमा रिटेन गरेको हो । लेफ्टआर्म स्पिन बलिङ अलराउन्डर सन् २०१९ देखि नै दिल्लीसँग जोडिएका थिए । उनी यसै वर्षको जनवरीमा भारतीय टिमको उपकप्तान पनि बन्न सफल भए । ३१ वर्षीय खेलाडीले गुजरातबाट २३ खेलमा कप्तानी गरिसकेका छन् । यसअघि दिल्लीको कप्तान ऋषभ पन्त थिए । हाल उनी कीर्तिमानी मूल्यमा लखनउ सुपर जायन्ट्स पुगेका छन् । भारतको तीनै फर्म्याटको क्रिकेट खेलिसकेका अक्षरले ७१ टी–२० आईमा मात्रै पाँच सय ३५ रन बनाइसकेका छन् ।
२. अजिंक्या रहाने (कोलकाता)
अजिंक्या रहाने आइपिएलका लागि नयाँ नाम होइन । उनले यसअघि नै २५ खेलमा कप्तानी गरिसकेका छन् । तर, कोलकाताका लागि भने नयाँ कप्तान हुन् । पछिल्लोपटक श्रेयस अयर टोलीको कप्तान थिए । यसपटक उनी पन्जाब किंग्स पुगेपछि रहाने नयाँ कप्तान बनेका हुन् । रहानेले मुम्बईको पनि प्रतिनिधित्व गरिसकेका छन् । ३६ वर्षीय रहाने सबैभन्दा अनुभवी कप्तान पनि हुन् । रहानेले भारतका लागि २० टी–२० आई खेल्दा तीन सय ७५ रन बनाएका छन् । त्यस्तै, भारतका लागि ८५ टेस्ट र ९० एकदिवसीय खेल खेलिसकेका छन् ।
३. ऋषभ पन्त (लखनउ सुपर जायन्ट्स)
अघिल्लोपटक दिल्लीको कप्तान रहेका ऋषभ पन्त यसपटक लखनउ सुपर जायन्ट्ससँग कीर्तिमानी २७ करोड भारुमा अनुबन्ध भएका छन् । यसअघि टोलीको कप्तानमा केएल राहुल थिए । पन्त लिग इतिहासकै महँगा खेलाडी हुन् । उनी सन् २०२१ देखि २०२४ सम्म दिल्लीको कप्तानी थिए । उनको कप्तानीमा दिल्लीले ४३ मध्ये २३ खेल जितेको छ । उनी कार दुर्घटनापछि पुनः मैदान फर्किएका हुन् । त्यसपछि लगातार उच्च प्रदर्शन गरिरहेका छन् । भारतको प्रतिनिधित्व गर्दै तीनै फर्म्याटको खेल खेलिसकेका छन् ।
४. श्रेयस अयर (पन्जाब किंग्स)
पछिल्लोपटक कोलकातालाई आइपिएल च्याम्पियन बनाएका श्रेयस अयर पन्जाब किंग्सका १७औँ कप्तान हुन् । कोलकातालाई च्याम्पियन बनाएका श्रेयसलाई पन्जाबले २६.६५ करोड भारुमा किनेको हो । यसअघि शिखर धवन र साम करन पन्जाबका कप्तान थिए । श्रेयस भने दिल्ली र कोलकाताको कप्तान भइसकेका छन् । उनको कप्तानीमा टिमले ७० मध्ये ३८ खेल जितेको छ । ३० वर्षीय खेलाडीले भारतका लागि तीनै फर्म्याट खेलिसकेका छन् । टी–२० आईमा मात्रै ७० खेल खेल्दा दुई हजार आठ सय ४५ रन बनाएका छन् ।
५. रजत पटिदार (रोयल च्यालेन्ज बेंगलुरु)
रजत पटिदारले पहिलोपटक आइपिएलमा कुनै टिमको कप्तानी गर्दै छन् । पटिदारलाई कप्तानी जिम्मेवारी दिँदा टिमले विराट कोहलीलाई भने छाडेको छैन । विराटको कप्तानी खोसिएको छ । तर, यसअघि नै आरसिबीले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई कप्तानी दिइसकेको छ । पटिदारले आफ्नो कप्तानीमा मध्य प्रदेश क्रिकेटलाई सैयद मुस्ताक अली टी–२० क्रिकेटको फाइनलमा पुर्याएका थिए । ३१ वर्षका पटिदार आरसिबीको आठौँ कप्तान हुन् । उनको कप्तानीमा आरसिबी पहिलो उपाधि उचाल्ने योजनामा छ ।
आइपिएलका नयाँ पाँच नियम
१. यो आइपिएलमा स्लो ओभर रेटका लागि नयाँ व्यवस्था गरिएको छ । यसअघि ओभर स्लो गरिएको अवस्थामा कप्तानलाई निलम्बन गर्ने नियम थियो । यो आइपिएलमा कप्तानलाई निलम्बन नगर्ने, तर डिमेरिट अंक काटिने भएको छ । आयोजकले दश टिमका कप्तानलाई यो नियम सुनाइसकेको छ ।
२. बिसिसिआईले धेरै कप्तानको गुनासोपछि आगामी सिजनमा बलमाथि थुक लगाउन पाउने नियम बनाएको छ । आइसिसी च्याम्पियन्स ट्रफीपछि बिसिसिआईले बलरलाई बलमा थुक लगाउन दिने पक्षमा पुगेको हो । कोभिड–१९ पछि बलमा थुक लगाउन नपाइने व्यवस्था थियो ।
३. बिसिसिआईले यो सिजनको आइपिएल खेल जारी रहँदा दोस्रो बल प्रयोग गर्न पाउने नियम बनाएको छ । यसअघि खेल सुरु भएपछि रेफ्रीले दिएको सोही बललाई अन्तिमसम्म खेल्नुपर्ने बाध्य थियो । यसपटक धेरै समय रातमा खेल हुने र बल चिसो हुने हुँदा कप्तानको अनुरोधपछि बिसिसिआईले नयाँ बल प्रयोग गर्न दिने बताएको छ । त्यसका लागि ११ ओभरपछि अम्पायरले पुरानो बल चेक गर्नेछन् र बल झिजेको अवस्थामा मात्रै नयाँ बल प्रयोग गर्न दिनेछन् ।
४. आइपिएलमा यसपटक वैकल्पिक खेलाडी राख्न पाउने नियम बनाएको छ । पछिल्लोपटक पनि यो नियम रहेको थियो । यो सिजन यसलाई निरन्तरता दिइएको छ । खेलअघि नै एक खेलाडीलाई वैकल्पिक सूचीमा राख्नुपर्ने हुन्छ । मैदानमा रहेका ११ मध्ये कुनै खेलाडीलाई केही भएको अवस्थामा वैकल्पिक खेलाडी मैदानमा प्रवेश गर्न पाउनेछन् । तर, यो नियममा कम खेल खेलेका खेलाडीलाई अवसर दिनुपर्नेछ ।
५. आइपिएलको हरेक वाइट र हाइटमा डिआरएस निर्णय लागू गरिने भएको छ । अब, उचाइका कारण नो बल र अफ स्टम्पको बाहिर वाइटका लागि डिआरएस लागू भएको छ । यसले गर्दा अम्पायरलाई निर्णय लिन सहज हुने बिसिसिआईको बुझाइ छ ।
एजेन्सीको सहयोगमा