
महोत्तरी - विपतका वेला खोज तथा उद्धार गर्न सक्ने गरी महोत्तरीका २८ युवा तथा स्थानीय विपत् व्यवस्थापन समितिका सदस्यहरूलाई समुदायस्तरीय चारदिने खोज तथा उद्धार तालिम दिइएको छ।
जिल्ला विपत् व्यवस्थापन समितिको समन्वय तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल तथा एकीकृत ग्रामीण विकास समाज बर्दिवास महोत्तरीको आयोजनामा तालिम आयोजना भएको हो। तालिममा मुख्य विपद्बारे छलफलसँगै विपत् प्रतिकार्यका लागि कसरी काम गर्ने भन्ने जानकारी गराइएको थियो।
तालिममा भूकम्पको पूर्वतयारी, आगलागी नियन्त्रण तथा आगलागीका वेला उद्धार, डुबान, सर्पदंश र प्राथमिक उपचारसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक सिप सिकाइएको थियो।
नेपाली सेनाको गोरखनाथ गण र शसस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण हेडक्वाटर जलसागरका प्रशिक्षकहरूबाट उक्त तालिम प्रदान गरिएको हो।