
सर्लाही - सर्लाही सदरमुकाम मलंगवा–९ स्थित बालमन्दिर चोकको ताज गेस्ट हाउसमा भारतीय महिला मृत फेला परेकी छन् । भारतको राजधानी दिल्लीस्थित उत्तरपूर्वी सुदामापुरीकी २८ वर्षीय आरती कुमारी बुधवार दिउँसो १ देखि २ बजेको बिचमा गेस्ट हाउसको कोठामा पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।
गेस्ट हाउसका कर्मचारीहरूले बिहान १० बजे खाना खाएपछि कोठामा गएकी आरती लामो समयसम्म बाहिर ननिस्किएपछि शंका गर्दै झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
यो पनि
सर्लाहीको गेस्ट हाउसमा भारतीय युवती झुण्डिएको अवस्थामा फेला
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हरिवन नगरपालिका–११ का मो. सेराज नामक व्यक्तिले चैत ११ गते गेस्ट हाउसको कोठा नं. १०९ आफ्नो नाममा बुक गरी ती महिलासँग बस्दै आएका थिए । प्रत्यक्षदर्शीका अनुसार, सेराज नामक व्यक्ति पछिल्ला तीन दिनदेखि आरतीलाई भेट्न गेस्ट हाउस आइरहेका थिए र उनी आज बिहान पनि मृतकसँग भेटेर फर्किएका थिए ।
प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ। विवाहित आरती दिल्लीबाट मलंगवा किन आइन् र सेराजसँगको सम्बन्ध के थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।