
काठमाडौँ - भोलि काठमाडौँका दुई स्थानमा हुने बेग्लाबेग्लै समूहको प्रदर्शनलाई लक्षित गरेर साढे ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
सम्भावित मुठभेड रोक्न ३५ सयभन्दा बढी नेपाल प्रहरी र २ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने भएको हो। काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा पूर्वराजा पक्षधरले प्रदर्शन गर्दै छन्।
प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी काठमाडौँ उपत्यका प्रहरी कार्यालयले गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए।
शान्ति सुरक्षाको माहोल बिग्रन नदिन प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई संयुक्त रूपमा परिचालन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले भोलि ट्राफिकको समस्या हुनसक्ने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरे।
सशस्त्र प्रहरीले पनि भोलिको प्रदर्शनमा हुनसक्ने घुसपैठ तथा तोडफोड रोक्ने गरी योजना बनाएर तयारी अवस्थामा रहेको बताएको छ।
स्थानीय प्रशासनको सुरक्षा योजनाअनुसार सुरक्षा टोली तैनाथ अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।
प्रदर्शनमा उत्रिनेहरूलाई पनि संयम भएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न प्रशासनले आग्रह गरेको छ। सुरक्षा रणनीतिअनुसार पूर्वराजा पक्षधरलाई सकभर रिङरोडमा मात्र जुलुस निकाल्ने गरी व्यवस्था मिलाइएको छ।
भक्तपुरबाट आउने पूर्वराजाका पक्षधरहरूलाई तीनकुनेमै रोक्ने रणनीति प्रहरीले बनाएको छ।
मोर्चाले विभिन्न ८ रुट माइतीघर मण्डला, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतिदेवीबाट र्यालीसहित प्रदर्शन गर्ने र भृकुटीमण्डपमा कोणसभा गर्ने जनाएको छ।