
काठमाडौं - राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनको सत्य तथ्य छानबिन गर्न सरकारले गृह मन्त्रीलाई निर्देशन दिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले छानबिनमा दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्न निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए। उनले प्रदर्शनकारीले निजी सम्पत्तिमाथि क्षति पुर्याएको, हिंसात्मक गतिविधि गरेर आतंक फैलाएको र मान्छेको ज्यान जानेगरी अमानवीय काम गरेको भन्दै त्यसको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको बताए। त्यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ।
सरकारका प्रवक्तासमेत रहेका गुरुङले राजावादीहरूले अराजकता फैलाएको आरोप लगाएका थिए। राजावादीहरुले शुक्रबार गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा ठूलो धनजनको क्षति पुगेको छ। प्रदर्शनमा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने निजी घरहरूमा क्षति पुगेको छ। त्यस्तै सरकारी कार्यालय, व्यापारिक भवन, सञ्चार गृहमा पनि प्रदर्शनकारी क्षति पुर्याएका छन्।