
जनकपुरधाम - पत्रकार सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गरिएको र सञ्चारगृहमाथि आगजनी गर्नेलाई कारबाही गर्न माग गर्दै नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ धनुषाद्वारा सोमबार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण–पत्र बुझाइएको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा सोमबार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साह सहितको टोलीले धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयालाई ज्ञापन पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकार मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अुसन्धान, गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न तथा पत्रकारका परिवारलाई क्षतिपूर्ति दिन, मृतक पत्रकारको परिवारलाई रोजगारीको र सन्तानको शिक्षाको प्रबन्ध मिलाउन माग गरेको छ । साथै सञ्चारकर्मी र सञ्चारगृहमार्थि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन, क्षति पुर्याएका सञ्चारगृह तथा सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन जोडदार माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कडरीयाले पत्रकारको सुरक्षालाई गम्भीरताका साथ लिने प्रतिबद्धता व्यक्त गरे । पत्रकार महासंघ धनुषाले पछिल्लो समय पत्रकार तथा सञ्चारगृहमाथि भएका आक्रमणको भत्र्सना गर्दै यस्ता घटना दोहोरिन नदिन राज्य जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ । साथै सातादिन भित्र माग सम्बोधन नभए सरकार विरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघले जनाएको छ । ध्यानाकर्षण पत्र बुझाउने टोलीमा वरिष्ठ पत्रकार विश्वमणी (बिएम) खनाल, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महिला उपाध्यक्ष ज्योति झा, धनुषाका उपाध्यक्ष अवधेश कामत, सचिव बटुनाथ झा लगायत प्रदेशका सदस्य तथा पदाधिकारी र जिल्लाका सदस्य तथा पदाधिकरीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौंमा गत शुक्रबार एभिन्यूज टेलिभिजनकर्मी रजकको पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा भएको प्रदर्शनमा समाचार सङ्कलनको क्रममा आन्दोलनकारीहरुले उहाँलाई एक घरमा ढोका थुनेर बाहिरबाट आगो लगाएर निर्मम हत्या गरेका थिए ।