
महोत्तरीको बिजलपुरा एक समयमा देश तथा विदेशमा रेलको ‘छुकछुके’ आवाजले चिनिन्थ्यो । आज आफ्नै इतिहास र पहिचानबाट बिजलपुरा टाढा भएको छ । पहिला जनकपुर– भंगहा –बिजलपुरासम्म रेल्वे चल्थ्यो ।
तर अहिले बिजलपुरा भएर रेल्वे त के चलथ्यो र ट्रयाकले पनि बिजलपुरालाई छोएको छैन । भंगहाबाटै रेल्वे ट्रयाक परिवर्तन गरी प्रेमनगरतिर मोड्दै बर्दिबासतर्फ सारिएको छ । जसले गर्दा बिजलपुराको ऐतिहासिक परिचय नै धुमिल भएको छ । यो परिवर्तनमा राजनीतिक खोलले प्रभाव पारेको छ । दलीय शक्ति र केन्द्रीकृत निर्णय प्रक्रियाको प्रभावले हाम्रो बिजलपुराको रेल्वे इतिहास नै खोसिएको छ ।
बिजलपुराबाट नै रेल्वे जानुपर्छ भन्दै हामीले पहल गरेका थियौं । तर, कसैले सुनेनन् । बरु बिजलपुराबाट रेल्वेको इतिहास खोस्न सबै राजनितिक शक्ति प्रयोग गरे ।
२०६४ सालमा तत्कालीन संविधानसभा सदस्य गिरिराजमणि पोखरेलले यस क्षेत्रको ट्रयाक अर्को मार्गतर्फ सार्ने निर्णयमा सघाए । जुन स्थानीय जनताको माग विपरीत थियो । हामीले जिल्ला प्रशासन, रेल्वे विभाग, यातायात मन्त्रालयसम्म पहल गरेका थियौं । तर पूर्व शिक्षा र स्वास्थ्य मन्त्री पोखरेलले यसमा कुनै सहयोग गर्नुभएन ।
रेल्वे नहुँदा पर्यटन र आर्थिक गतिविधिमा नकारात्मक असर परेको छ । रेल्वेको जग्गा दुरुपयोग भएको छ । रेल्वेको ७ बिघा जग्गा अतिक्रमणमा परेको छ ।
(महतो बर्दिबास नगरपालिका वडा नम्बर १३ का पूर्व वडा सदस्य हुन् ।)