
महोत्तरी - महोत्तरीको औरहीलगायत सम्पूर्ण मधेशमा आज शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज शुक्रबार बिहान औरहीलगायत मधेशभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरियो ।

चैती छठ पर्व महोत्तरीको औरही , मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबास,जलेश्वर लगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाका प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भिड लाग्छ ।







