
१५ चैतमा दुई जनाको ज्यान जाने गरी तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं १४ दिनपछि पक्राउ परेका छन् । भारतको आसामबाट झापाको चन्द्रगढीहुँदै काठमाडौं ल्याइएको छ । आफू कसैसित नडराउने र नभाग्ने भनेका प्रसाईं १५ चैतको आन्दोलनपछि फरार थिए । त्यसयता सामाजिक सञ्जालमा दुई भिडियो सन्देश जारी गरी काठमाडौंआसपासमै रहेको दाबी गरेका उनी भारतबाट ल्याइएका छन् ।
प्रसाईं पशुपतिनगर, दार्जिलिङहुँदै भारत आसामको बक्सा जिल्ला पुगेका थिए । त्यहाँ दुई दिन बसेका उनी रातारात गुवाहाटी पुगेर आफ्ना पाँच सहयोगीसहित एक होटलमा बसिरहेका थिए ।
आसामका प्रहरी डीजीले यो कुरा थाहा पाएपछि आसाम प्रहरीले उनलाई पक्राउको तयारी गरेको थियो । लगत्तै प्रसाईंले आत्मसमर्पण गरेको भनी उनको सचिवालय भनिएको फेसबुक प्रोफाइलबाट सूचना आएको थियो । प्रसाईंलाई खोज्न नेपाल प्रहरीको विशेष ब्युरो भारतका विभिन्न क्षेत्रमा परिचालित थियो ।
बिहीबार राति उनी पक्राउ परेको खबर एकाएक मिडियामा फैलिएपछि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति निकालेर खण्डन गरेको थियो । नेपाली प्रहरीका पूर्वअधिकारीका अनुसार, प्रहरीले यसो गर्नुपछाडिको कारण भारतसँग कैदी वा समातिएका आरोपी आदनप्रदान गर्ने स्पष्ट व्यवस्था नहुनु थियो । यस्तो केसमा भारत वा नेपालले पक्राउ गरेका आरोपीलाई अनौपचारिक रूपमा लेनदेन गर्ने गरेका छन् । पक्राउ परेको हल्ला फैलिँदा भारतले नै प्रश्न उठाउने सम्भावना थियो । त्यसैले प्रसाईंलाई नेपाल नल्याउँदासम्म प्रहरी यसलाई गुपचुप राख्न चाहन्थ्यो । त्योभन्दा अगाडि प्रसाईंकै तर्फबाट यो सार्वजनिक भएको थियो ।
२९ चैतको बिहान भारतीय प्रहरीबाट जिम्मा लिएपछि नेपाल प्रहरीले विज्ञप्ति जारी गरी प्रसाईंलाई भद्रपुरबाट पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रसाईंविरुद्ध सरकारले राज्यद्रोहको मुद्दा लगाउन सक्छ । यसबाहेक ज्यान मुद्दा, संगठित अपराध, सार्वजनिक सम्पत्ति तोडफोडलगायत मुद्दा पनि प्रसाईंले सामना गर्नुपर्ने हुन सक्छ । १५ चैतको आन्दोलनपछि समातिएका राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणालाई राज्यद्रोहको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
को हुन् दुर्गा प्रसाईं ?
तेह्रथुम आठराईको एक सामान्य किसान परिवारमा ८ वैशाख २०२८ मा जन्मेका दुर्गा प्रसाईले ८ कक्षासम्म मात्र पढेका छन् । बुबा कृष्णप्रसाद प्रसाईं र आमा कौशिलाका सन्तान दुर्गालाई नजिकबाट चिन्नेहरूका अनुसार उनी सानैदेखि रिसाहा स्वभावका थिए । ८ कक्षामा पढ्दा शिक्षकलाई अभद्र व्यवहार गरेपछि विद्यालयले उनलाई कारबाही गर्यो । त्यसपछि उनले स्कुल जानै छोडिदिए ।
प्रसाईंको परिवार आर्थिक रूपमा कमजोर थियो । पहाडमा गाह्रो भएकैले धेरै अघि उनको परिवार तेह्रथुमबाट झापाको शनिश्चरे बजारनजिकै बसाइँ सरेको थियो ।
झापा झरेपछि प्रसाईंको विवाह सानै उमेरमा उमा गिरीसित भयो । गिरी परिवार झापाको प्रसिद्ध गिरीबन्धु टि–इस्टेटका धनीको आफन्त थियो । त्यो बेला प्रसाईंको ससुराली घर जहाँ थियो, अहिले त्यहाँ बीएण्डसी अस्पताल छ । अस्पतालको नाम प्रसाईंका सासुससुराकै नामबाट राखिएको छ– बी अर्थात् भगवान गिरी र सी अर्थात् चन्द्रमाया गिरी । उमा गिरी र उनका भाइ सौतेनी आमातिरका सन्तान हुन् ।
प्रसाईंका बुबाआमा नेपाली कांग्रेससँग आस्थावान् थिए । त्यसैले सुरुमा उनी नेपाली कांग्रेसमा आबद्ध भए पनि राजनीतिमा सक्रिय थिएनन् । यो नेपालमा माओवादी विद्रोह सुरु हुनुभन्दा अघिको कुरा हो ।
झापामा ग्रील फ्याक्ट्रीदेखि युरोपमा भैँसी फारमसम्ममा जागिर
घर चलाउन प्रसाईंले केही समय ग्रील फ्याक्ट्रीमा काम गरे । पछि रोजगारीका लागि युरोपतिर हानिए । युरोपमा उनले भैँसी फारममा काम गरेका थिए । त्यहाँ भैँसी फारममा काम गरेको अनुभव लिएर उनी नेपाल फर्किए र बिर्तामोडमा भैँसी पालन सुरु गरे ।
स्थानीयवासीको भनाइमा उनले भारतको हरियाणाबाट उन्नत नश्लका भैँसीहरू किनेर ल्याएका थिए । उनको फारममा करिब १ सय भैँसी थिए । उनी भैँसीका पाडा, पाडीसँगै दूध बेच्थे । बैंकबाट कर्जा लिएर सुरु गरेको भैँसी फारमको सुरुवाती कारोबार राम्रो चलेको थियो । तर, पछि आर्थिक समस्या आउन थाल्यो । समस्या बढ्दै जाँदा उनलाई बैंकको कर्जा तिर्न गाह्रो पर्यो । ब्याजै तिर्न नसकेपछि बैंकले थप ऋण पत्याएन । उनको भैँसीपालन चौपट हुन पुग्यो ।
त्यही बेला ससुरालीमा अंशलाई लिएर मुद्दा मामिला भइरहेको थियो । प्रसाईंका सालाले आफ्नो बुबालाई अंश हकको मुद्दा हालेका थिए । तर, यो लामो समयसम्म अदालतमा अड्किएको थियो ।
एकातिर भैँसीपालन डामाडोल भयो, अर्कोतिर श्रीमती र सालाको मुद्दामा कुनै सुनुवाइ नभएपछि उनी तत्कालीन विद्रोही नेकपा माओवादीमा लागे । त्यो बेला माओवादी भएपछि भूमिगत हुनुपर्थ्यो । उनी पनि भूमिगत भए । जानकारहरूका अनुसार, युद्धकालमा उनलाई सेनाले केही महिना हिरासतमा लिएको थियो । परिवार र आफन्त नेपाली कांग्रेससँग जोडिएकाले उनीहरूकै सिफारिसमा उनी रिहा भएका थिए । २०६२/६३ सालमा राजतन्त्र ढाल्ने आन्दोलनमा समेत प्रसाईं सक्रिय भएर लागेका थिए ।
दुर्गा प्रसाईंमाथि के पनि आरोप लाग्छ भने, द्वन्द्वकालमा आफ्ना ससुरालीविरुद्ध उनले माओवादी शक्ति प्रयोग गरेका थिए । माओवादीको धम्कीका कारण प्रसाईंका सुसरा आफ्ना छोरालाई जग्गा भाग लगाउन तयार भएका थिए । अदालतबाट हुन नसकेको काम प्रसाईंले माओवादीबाट गराएको बताइन्छ । अन्त्यमा प्रसाईंका सालाले जग्गाको हिस्सा पाए ।
उनलाई चिन्नेहरू भन्छन्, ‘सालाले जग्गा भागमा पाएपछि प्रसाईंको पनि भाग्य चम्कियो । उनले आफ्नो सालासित मिलेर जग्गा प्लटिङको काम सुरु गरे । घडेरी बेचेर खुब पैसा कमाए । पछि दुर्गा प्रसाईंले काठमाडौंमा पनि जग्गाको कारोबार गरे । बिर्तामोडमा बीएण्डसी मेडिकल कलेजसँगै उनले कैयौं कारोबारमा हात हाले । त्यही बेला प्रसाईंले भक्तपुरमा सानदार घर बनाएका हुन् । यो त्यही घर हो, जहाँ तत्कालीन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले मार्सी चामलको भातसहित लञ्च मिटिङ गराएका थिए । विगतमा जे भए पनि अहिले ससुरालीसित उनको राम्रै सम्बन्ध रहेको बताइन्छ ।
...त्यसपछि चर्चामा आए
हाल प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७४ सालमा एउटै डाइनिङ टेबुलमा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि प्रसाईं चर्चामा आएका थिए । त्यो बेला उनी तत्कालीन नेकपा अध्यक्षद्वय ओली–प्रचण्डको शक्ति लगाएर मेडिकल कलेज सम्बन्धन लिने दौडमा थिए । उनको सुरुवाती उद्देश्य पनि यही मात्र थियो ।
सम्बन्धनका लागि उनी ओली र प्रचण्डकहाँ खुब धाए । तर, अभियन्ता डा. गोविन्द केसीको आन्दोलनका कारण बेलैमा सम्बन्धन पाउन सकेनन्, जसका कारण प्रसाईंमा राज्य र नेतृत्वप्रति वितृष्णा जाग्यो ।
त्यो बेला ओली दुईतिहाइ समर्थनको प्रधानमन्त्री थिए भने प्रचण्ड देशकै सबैभन्दा ठूलो पार्टीको अध्यक्ष थिए । कतिपयले त के पनि भन्छन् भने ‘व्यवसायी दुर्गा प्रसाईं’लाई ’अराजक दुर्गा प्रसाईं’ बनाउने ओली–प्रचण्ड वा यही राज्य प्रणाली हो ।
आफ्नो सारा मिहिनेत र लगानी काम नलागेपछि उनी स्वयम् राजनीतिमा सक्रिय हुन कस्सिए । नेकपा विघटन भई माओवादी र एमाले छुट्टिँदा उनी तत्कालीन प्रधानमन्त्री ओलीतिर लागे । कुनै बेला पूर्वी नेपालमा हुने ओलीका भ्रमणमा उनी सँगै देखिन्थे, प्रधानमन्त्रीबाट हटेपछि पनि ओली उनकै गाडीमा घुम्थे । त्यसैका पुरस्कारस्वरूप ओलीले १०औँ महाधिवेशनपछि प्रसाईंलाई केन्द्रीय सदस्य मनोनीत गरे । उनी पछि स्वास्थ्य विभागको उपप्रमुखसमेत बनाइए । तर, उनको मूल चाहना मेडिकल कलेजको सम्बन्धन लिनु थियो । यो नभए उनी २०७९ सालमा झापाबाट प्रतिनिधिसभा निर्वाचनमा टिकट चाहन्थे । एमालेले दुवै चाहना पूरा नगरिदिने निचोडमा पुगेपछि प्रसाईंले राजनीतिक बाटो मात्रै बदलेनन्, सँगै राखेर मार्सी भात खुवाएका नेताहरूकै सत्तोसरापमा उत्रिए । राजावादी फेटा गुथेर गणतन्त्रविरुद्ध फलाक्न थालेपछि २०७९ साल फागुनमा उनलाई एमालेले पार्टीबाट निकाल्यो ।
प्रसाईंले बाटो मोडिसकेपछि चैत २०८० मा सर्वोच्च अदालतले आवश्यक प्रक्रिया पूरा गरेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो ।
त्यसअघि उनले मेचीपुलमा अन्तिम राजा ज्ञानेन्द्र र उनको परिवारसमेत सहभागी एक मञ्चबाट धर्मसापेक्ष राज्यसहित राजसंस्था फर्काउने अभियानको घोषणा गरेका थिए ।
सुरुमा बैंक तथा वित्तीय संस्था र लघुवित्त पीडितको न्यायका लागि भन्दै सुरु गरेको ‘नागरिक बचाऊ अभियान’लाई उनले राजसंस्था र धर्मसापेक्षताको माग थपेर ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ बनाएका थिए ।
ऋणको चर्चा
दुर्गा प्रसाईंको सम्पत्तिसँगै उनको ऋणको पनि चर्चा हुने गर्छ । सबै कारोबार चलाउनका लागि उनले बैंकबाट अर्बौं ऋण लिएका छन् । अपुष्ट रिपोर्टहरूअनुसार, विभिन्न बैंक र वित्तीय संस्थाबाट उनीमाथि ७ अर्ब रुपैयाँको कर्जा छ । यद्यपि, उनले कर्जा चुकाइरहेको बताउने गरेका छन् ।
हाल उनी बीएण्डसी टिचिङ र पूर्वाञ्चल क्यान्सर हस्पिटलका मालिक हुन् । यद्यपि, यो व्यवसाय उनका दुई सन्तान छोरा डा. निरञ्जन प्रसाईं र छोरी डा. चन्दा प्रसाईं अनि सालाले हेर्छन् । चिन्ने–जान्नेहरू भन्छन्, ‘प्रसाईं जति अराजक र उग्र भए पनि उनका छोराछोरी निकै शान्त र भद्र स्वभावका छन् ।
कांग्रेस, माओवादी, एमालेहुँदै राजावादी बनेका प्रसाईंले भने अब गम्भीर मुद्दाको सामना गर्नुपर्नेछ । उनीविरुद्ध राज्यद्रोहसँगै ज्यान मुद्दा, संगठित अपराध, सार्वजनिक सम्पत्ति तोडफोडजस्ता मुद्दामा अनुसन्धान हुन सक्छ ।