
नुवाकोट - चैत शुक्ल पूर्णिमाको दिन नुवाकोटको त्रिशूली र सूर्यमति नदीको संगमस्थलमा रहेको देवीघाटस्थित जालपादेवी मन्दिरमा विशेष मेला गरिएको छ।
हरेक वर्ष ठूलो भीडभाडका साथ देवीघाटस्थित जालपादेवी मन्दिर क्षेत्रमा लागेको मेला आइतबार सकिएको छ। सदियौंदेखि चल्दै आएको नुवाकोटको प्रमुख तथा ऐतिहासिक जालपादेवी जात्रामा आगामी वर्ष देशमा हुने घटनाक्रमहरूको भविष्यवाणी गोप्य रुपमा राष्ट्रपतिलाई पठाइँदै आएको छ।
यस वर्षसमेत मेलामा गरिएको भविष्यवाणी गोप्य रुपमा राष्ट्रपति कहाँ पठाइएको छ। यस वर्ष मेलामा १५ हजार तीर्थालुले मेला भरेका छन्।

मेला भर्नका लागि नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, चितवन, मकवानपुरलगायत देशका धेरै स्थान तथा भारतबाटसमेत तीर्थालुहरू आउने गरेका छन्। यस वर्ष मेलामा गत वर्षको तुलनामा धेरै तीर्थालु आएको पुजारी शंकर चित्रकारले बताए।