
जनकपुरधाम- डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा क्षेत्र नम्बर–३ का उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
धनुषा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई.शम्भुनाथ साह, प्रदेशसभा ३(क) का उम्मेदवार डाक्टर प्रसन्नकुमार झा र ३ (ख) का उम्मेदवार रामबाबु साहले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
जनमत पार्टीले पार्टी अध्यक्ष डाक्टर सिके राउतको उपस्थितिमा सोमबार धनुषाको धनौजी गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा चुनावी आमसभाको आयोजनासमेत गरेको छ ।
यस्ता छन् जनमतको प्रतिबद्धता पत्रका २५ बुँदाहरु :
१) सामुदायिक स्वराज ल्याउने : जहाँ जनताले कुनै नेता, दल वा कर्मचाराको शासन नभई मेरो शासन हो भन्ने लाग्छ ।
२) नेताका प्रतिनिधिले चित्तबुझ्दो काम नगरेमा ‘रिकल’ गर्ने अधिकार प्रयोग गरी जुनसुकै बेला पदबाट हटाउने अधिकार जनतालाई दिने ।
३) नेताहरुको मनमानीपनको अन्त्य गरी जनताको वास्तविक सार्वभौमसत्ता स्थापन गरी ‘जनता राज’ को स्थापना गर्ने ।
४) स्थानीय तहबाट संघीय सरकारमा प्रत्यक्ष लोकतन्त्रको कार्यान्वयनका लागि स्थानीय तहमा हरेक ठूला निर्णय र विकास आयोजनाको छनोट पनि प्रत्यक्ष लोकतन्त्र (जस्तै मोबाइल मार्फत जनमत लिने) गर्ने ।
५) कुनैपनि प्रस्तावमा ५ लाख मतदाताको हस्ताक्षरमा जनमतसंग्रह गराउने व्यवस्था मिलाउने ।
६) सन् १९६० डिसेम्बर १४ मा महासभाबाट पारित भएको निर्णय र २०६६ डिसेम्बर १६ मा पारित भएको निर्णय २२०० A-XXI_ ICCPR/ICESCR अनुसार समुदायको आत्मनिर्णयको अधिकार स्थापना गरी संघीयता, स्वायत्तता र गणतन्त्रणलाई सुदृढ गर्न ।
७) आइएलओ १६९ लाई लागू गरी श्रोत–साधनमा मधेसीहरूको अधिकार स्थापित गर्ने ।
८) सबै कुरामा भारी कर राजस्व लगाएर सरकारी लुट रोक्ने ।
९) जनलोकपाल जस्ता प्रस्ताव ल्याई भ्रष्टाचारलाई जराबाट उखेल्ने र सुशासन ल्याउने ।
१०) “फिर्ता गर्ने अधिकार“, “अस्वीकार गर्ने अधिकार“, “सूचनाको अधिकार“ जस्ता प्रावधानहरूलाई प्रभावकारी रूपमा संस्थागत गर्ने ।
११) कर राजस्वबाट उठेको पैसामा ‘साना राजा’ बनेर जनतामाथि दमन गर्ने जनप्रतिनिधि र कर्मचारीलाई रोक्ने ।
१२) सरकारी कर्मचारी, प्रहरी र सेनाबाट हुने दमन रोक्ने ।
१३) मधेसमा १० लाख रोजगारी सृजना गरी “हर घर एक रोजगार“ दिने ।
१४) विदेशमा रहेका युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने ।
१५) शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने ।
१६) जातीय भेदभाव, उत्पीड़न, शोषण र छुवाछुतलगायत सबै प्रकारका भेदभाव हटाउने ।
१७) समानुपातिक विकास र सामाजिक न्यायको लागि समानुपातिक समावेशी र उत्पीडित तथा पिछडिएको वर्ग सेना र प्रहरीमा मधेशीहरुको सामूहिक भर्तीका लागि ।
१८) निःशुल्क शिक्षा, सर्वव्यापी स्वास्थ्य सेवा, एकीकृत सामाजिक सुरक्षा, योग्य सबैलाई रोजगारी, सबै जनताका लागि खाना लत्ताकपडा, आवास र जग्गासहितको समाजवादी र परोपकारी राज्यको स्थापना गर्ने ।
१९) नेपालको संविधान संशोधन गरी विभेदकारी सिमाङ्कन र प्रावधानलाई न्यायोचित बनाउने ।
२०) प्रत्येक नागरिकलाई आत्मनिर्भर बनाउनको लागि अनिवार्य रुपमा एक वर्ष स्वयंसेवक तालिम दिन लगाउने ।
२१) नागरिकता समस्याको स्थायी समाधानका लागि ।
२२) किसानको समस्या स्थायी समाधानको लागि ।
२३) चुरिया हिमाललाई संरक्षित क्षेत्र बनाएर अध्यागमन व्यवस्थापन गर्ने । १० करोड रुख रोपेर वातावरण संरक्षणमा योगदान पुर्याउने ।
२४) समृद्धि र विकासका लागि मधेसमा विदेशी लगानी ल्याउने ।
२५) समग्रमा मधेस थरुहट आन्दोलनका शहीदहरुको सपना पूरा गर्न मुस्लिम दलित आदिवासी अल्पसंख्यक सीमान्तकृत संहिता ।