
राजकुमार साह
….अनि ऊ आफू बसेको होटलनजिक पुग्नै लागेको थियो कि अनायास आवाज आयो,
“जाना है अंकल ?”
गुलशनको विस्तारै विस्तारै उठिरहेको कदम एक्कासि रुक्यो । देब्रेछेउमा कुर्सीबाट उठ्दै गरेको केटोलाई हेर्यो अनि सामुने साइनबोर्ड हेर्यो—‘बडी मसाज पार्लर ।’ यहाँ शरीर मालिस गर्ने काम हुन्छ भने बुझ्न उसलाई समय लागेन । फेरि गुलशन जिज्ञासापूर्वक त्यो केटोमाथि आँखा तेर्स्यायो ।

“यहाँ बहुत अच्छा से बडी मसाज होता है,शरीर बहुत हल्का हो जाता है,आइए चलिए अन्दर ।” त्यो केटो त यस्तो शैलीमा भन्यो जस्तो कि गुलशनको जाने सहमति भइसकेको थियो । ऊ आश्चर्यमा पर्यो । थकमकाउन पनि थाल्यो । मन भए पनि नभए पनि यो विषयले उसको कौतुहलताको आगोलाई सल्काइदिएको थियो । यताउती हेर्यो अनि त्यो केटोलाई सोध्यो —“क्या रेट है बडी मसाज करबाने का ? ”
“ बस बाह्र सय, इसम में दोनो चीज हो जायेगा ”
आश्चर्यमाथि आश्चर्य । उसको थकान त यही ओर्लिरहेको थियो । मनमा लाज र जिज्ञासा लुकामारी खेल्न थाल्यो । केटोले दिएको जवाफको संकेत गुलशनले नबुझेको होइन,तर बुझ्दै नबुझेको भाव अनुहारमा ल्याउँदै उसले सोध्यो — “ दोनो चीजका मतलव ? ”चिढिंदै “अंकलजी आप भी…., ये भी हो जायेगा । ” औंलाले यौन क्रियाको संकेत देखाउँदै केटोले उसलाई भित्र जान बेस्सरी कर गर्न थाल्यो ।
केटो आफ्नो कर्तव्य लगनशील भएर गर्दै थियो । बडी मसाज पार्लरको मालिकले सडकमा आवतजावत गर्ने मान्छेहरुलाई भन्ने,लोभ्याउने,ल्याउने जस्ता कामका लागि नै त्यसलाई ज्यालादारीमा राखेका थिए ।केटो लाजै नमानी कसरी निर्धक्क भएर मलाई फकाउन कोशिश गरिरहेको छ भन्ने गुलशन मनमनै सोंच्दै थियो । उसलाई त त्यहाँ अब उभ्न पनि अप्ठ्यारो भइरहेको थियो । तर उसको अनियन्त्रित मन उसलाई बाटो लाग्न पनि दिइरहेको थिएन । केटोलाई केही जवाफ नदिइ नौ दश कदम पछाडि नै रहेको के टी एम फुड हाउस फर्केर बाहिर राखिएको बेन्चमा बस्यो र एक कप चियाको अर्डर गर्यो ।
कुरो के भएको थियो भने गुलशन वर्षे विदाको मौका छोपी यही श्रावणमा नयाँ दिल्ली गएको थियो । हरेक सालझैं यसपालि पनि कोही साथी टुटेश्वरनाथ,कोही हलेसीनाथ,कोही नगुरखोला,कोही बाबाधाम ,कोही कहाँ कहाँ गएका थिए । गुलशन शुरुका आठ दिन हरियानाको शनिधाममा बसेर विधिविधानपूर्वक पूजापाठ गरी दिल्ली फर्केको आज तेश्रो दिन थियो । ऊ यहाँ पहाडगञ्जको भिनस इन्टरनेशनल होटलमा बसेको थियो । गुलशन साहित्यिक स्वभावका मान्छे भएकोले हरियानाको देहाती ठाउँ,फार्म र किसानसँगको भेटघाटमा नै बढी समय बिताइदिएको हुनाले दिल्ली घुम्न उसलाई निकै कम समय थियो । दिल्ली फर्कनेबेलामा एउटा पंजावीलाई घुमाउदै गरेको उत्तराखण्डको कारड्राइभरले ‘ दिल्ली गएपछि पहाडगञ्जमा बस्नू ,त्यहाँ थुपै्र होटलहरु छन्,सस्तो पनि छन् ’ भने गुलशनलाई गुरगाँवको साढारणा चौकमा सुझाएकाले ऊ यहाँ बस्न रोजेको थियो । यो दुई दिनको अवधिमा उसले अक्षरधाम, लाल किला, जामा मस्जिद,चाँदनी चौक,कालकाजी मन्दिर,लोटस टेम्पल आदि स्थल भ्रमण गरिसकेको थियो ।
भोलि नै नेपाल फर्कने इच्छाले सताउन थालेपछि गुलशन आज शकुरपुर पुगेर दिल्लीदेखि बेलासम्म आउने मिथिला ट्राभल्स बसको टिकट लिइ आफूले बस्ने होटल भिनस इन्टरनेशनल होटल फर्किरहेको थियो । ऊ आर.के.आश्रम मेट्रो स्टेशनबाट ओर्लेर पैदल आफ्नो वासस्थान गइरहेको थियो । पहाडगञ्ज पुगेपछि आफनो होटल कतिखेर पुग्ने भने कुराको अब उसलाई न कुनै चिन्ता थियो न हडबडाहट । त्यसैले रामकृष्ण मिशनमा आरती कार्यक्रममा भाग लिइ विस्तारै विस्तारै बासस्थानतिर हिड्दै थियो । सडकको दुबै छेउ रहेका पसलहरु,साइनबोर्डहरु,होटलहरु आदिमा आँखा दौडाउँदै अघि बढिरहेको थियो । पहाडगंजको गल्लीहरुमा होटलको श्रृंखला नै छन् भन्दा अतिशयोक्ति नहोलान् । ठाउँ ठाउँमा विभिन्न होटल एण्ड डान्स बारका कर्मचारीहरु जोकरको भेष बनाइ आवत जावत गर्नेहरुलाई आ–आफ्ना होटलमा तान्ने प्रयास गरिरहेको भेटिन्थे ।यी यस्तै लोभ्याउने दृश्य हेर्दै गुलशन उही मसाज पार्लरनजिक पुगेको थियो ।
केटीएम फुड हाउसमा काम गर्ने केटाहरु नेपाली नै थिए । होटलको नाम पनि स्वदेशी , कामदार पनि स्वदेशी भएकोले कहींबाट घुमफिर गरी आउँदा गुलशन त्यही एकछिन बस्थ्यो,चिया खान्थ्यो र ती नेपाली केटाहरुसँग कुनै कुनै विषयमा गफगाफ हुन्थ्यो । त्यो अन्जान शहरमा त्यहाँ बस्दा उसलाई आफ्नोपन महसूस हुन्थ्यो । विदेशमा स्वदेशको कोही भेट्दा एकै परिवारको सदस्य जस्तो लाग्छ । कहिले चाउमिन,कहिले मो मो खाइदिने गुलशन आज चिया मात्र अर्डर गरेको थियो ।
अर्डर अनुसारको चिया टेबलमा राख्दै त्यो नेपाली केटोले भन्यो–“ आज कहाँ कहाँ घुम्नुभयो सर ?” गुलशन आज त्यो केटोसँग बढी बोल्न रुचाएन । “शकुरपुर पुगेर बसको टिकट लिएर आएको ,भाइ । ” छोटकरीमा भन्दै उसको वार्तालापबाट बच्न गुलशन आफ्नो हातमा राखेको पत्रिका पढ्न थाल्यो । जबकि उसको ध्यान आज पत्रिकामा पनि थिएन । एक चुस्की चिया खायो र ऊ कल्पनामा डुब्यो । त्यो मसाज पार्लर त्यही नजिकमा भएकोले घडी घडी उता पनि हेर्थ्यो । त्यहाँ के भइरहेको छ,कस्ता मान्छेहरु पार्लरभित्र पस्दारहेछन् भने यहीबाट वस्तुस्थिति बोध गर्न चाहन्थ्यो । गुलशनको मनमस्तिष्कको रंगमञ्चमा दुविधाको नाटक मंचन भइरहेको थियो ।
“ आज मौका मिलेको छ,जाऊ..हेर यहाँको दूनियाँ ” उसको अन्तर्मनले उसलाई पार्लरतिर धकेलिरहेको थियो । तर गुलशन हिम्मत नै जुटाउन पाइरहेको थिएन । ‘ यो अन्जान ठाउँ..पार्लरभित्र के हुन्छ होला…राम्रो व्यवहार गर्छ कि गर्दैन….लुटपाट गर्छ कि..’ जस्ता संशयले उसको इच्छाको आकाशमा कालो बादल फिंजाइरहेको थियो भने आफूले कमाएको प्रतिष्ठा,पद र आफ्नो उमेरले त्यो कालो बादलबाट गड्याङगुडुको गर्जनाबाट त्यहाँ नजान सख्त चेतावनी दिइरहेको थियो ।
“साहित्य सिर्जना गर्ने , आफ्नो साहित्य मौलिक होस्,अद्वितीय होस् र यसको लागि जीवनजगतको प्रत्यक्ष अनुभव चाहिन्छ , अनुभव संकलन तथा बलियो पार्न यी यस्ता ठाउँमा जानुपर्छ भने तिम्रो पहिलेदेखिको सोंच होइन ? काठमाण्डौको सडकहरुमा घुमिरहँदा रमझम साँझ,लोक दोहरी,डान्स बार ,मसाज सेन्टर जस्ता ठाउँहरु आउँदा के तिम्रो इच्छा पलाएको थिएन ? तर हरेक चोटि फक्रिन नपाउँदै कल्पनाको फूललाई तिमीले मार्दै आएको हो । तिमी स्वभाविकताको हत्यारा छौ । आज राम्रो मौका आएको छ , यसपालि तिमी नचुक । घर,समाज,देशबाट टाढा…कसैलाई केही थाहा नहुने । यो अवसरलाई गुम्न नदेऊ,गुलशन । नत्र तिम्रो चाहना अधुरै रहने छ । चाहनालाई दबाउनु राम्रो होइन । भोलिका दिनमा तिम्ले सिर्जना गर्ने साहित्यमा व्यक्त विचार परिपक्व नहुन सक्छ । साहित्यकारको लागि अनुनव ठूलो सम्पति हो । भोगाइ जीवनको वरदान हो । कम्तिमा आफ्नो साहित्यको लागि पनि त जाऊ । ” अन्तर्मनले के के भन्दै उसको मस्तिष्कलाई आँधीबेहरी जस्तो झञ्झाइदियो ।
चिया चिसो भइसकेको थियो । साँझ पनि बैंसालु हुँदै गइरहेको थियो । चिया एकै घुँटमा पिएर गुलशनले त्यो नेपाली कामदारलाई भन्यो–“त्यो बडी मसाज पार्लरमा के हुन्छ,भाइ ?” अघि त्यसको कुरामा अल्झिन नचाहेको विवश गुलशन बडी मसाजको बारेमा कुरो खोतल्न थाल्यो ।
“त्यहाँ त सबथोक हुन्छ,सर । ”
“त्यो पनि ?”
“हजुर । ” यो चुप्पादास के सोधिरहेको छ भने मनमनै भन्दै जवाफ दियो ।
“ पुलिस छापा मार्दैन ?”
“ के मार्नु, सब मिलेको हुन्छ ।”
“ ग्राहक भित्र गएपछि पैसा खोस्दैन ?”
“ खोस्नु नपर्ने,तर त्यस्ता मान्छेहरुको के भर ! यस्ता काम गर्ने आइमाईहरु गुण्डा राखेका हुन्छन् भने सुन्याछु । खै,के छ के छ भित्र । ” भन्दै त्यो केटो तावामा राखेको आलु पराठाको रोटी उल्टाउन थाल्यो ।
त्यहाँ आइमाई नै सेवा गरेपनि विशुद्धरुपले बडी मसाज मात्रै हुने भएको भए त पैसा तिरेर गुलशन उहिले नै भित्र गइसकेको हुन्थ्यो । तर अर्कै कुराको नाम जोडिनासाथ ऊ अनिर्णित दलदलमा फसेको थियो । ऊ चियाको पैसा तिर्यो र आफ्नो गन्तब्य होटलतिर लाग्यो । हुनेहार,दैव न टार । दतचित्त भएर कत्र्तव्य पूरा गरिरहेको उक्त केटाको नजर पुनः गुलशनमाथि पर्यो र प्याच्च बोल्यो–
“ क्या हुआ अंकल,जाना है न ?”
“ पैसा छिन लिया तो ?”
“ धत् अंकलजी , जि.बी.रोड के जैसा यहाँ नही होता है । अन्दर काउन्टरपर मालिक बैठे हुए है,बात अनुसार के पैसे जम्मा कर दिजिए,हो गया । ” भन्दै त्यो केटो गुलशनको हात हल्कासित समात्दै “आइए ,चलिए ” भन्यो ।“ थोडा रुक जाइए ” नर्भस हुँदै गइरहेको गुलशन खल्तीबाट रुमाल निकालेर निधार र आँखा पुछ्यो ।“ वक्त मत बर्बाद किजिए , अभी औरत नही है….एकदम लडकी आइ हुइ है …बिल्कुल उन्नीस बीस बर्ष की । ” भन्दै फेरि त्यो केटो उसलाई भित्र लाने प्रयास गर्यो । “ ठीक है,थोडा रुक जाइए,हम डेरा में से फ्रेश होकर आ रहे हैं ” भन्दै केटोको कुनै कुरा नसुनी,कुनै तर्कवितर्क नगरी सिधा गुलशन आफ्नो बाटो लाग्यो ।
कोठामा पुगेर ऊ हातको पत्रिका टेबुलमा फाल्यो , शर्ट र फुलपैन्ट फुकाल्यो ,गमछा लिंदै वासरुम पस्यो । शौचालयको काम सकेर ऊ बाहिर निस्क्यो। गमछाले हातमुख पुछ्दै बिछ्यौनामाथि बस्यो । दुबै खुट्टा झुलाउन थाल्यो । एकैछिनमा बिछ्यौनामा राखिएको सिरानीलाई मोडेर अलि अग्लो बनायो र ओढ्ने कम्बलमाथि खुट्टा पसारेर पल्टिहाल्यो । आँखामा इभाटियर ड्रोप हाल्यो ,एकछिन आँखा बन्द गर्यो र खोल्यो । आँखाबाट कानसम्म बगेको आँसु गमछाले पुछ्यो । सिलिंगमा हेर्न थाल्यो । छातीमा हात राख्यो,मुटु अहिले पनि धक धक गरिरहेको थियो । त्यो केटोले बोलेका शब्दहरु अहिले पनि उसको कानमा प्रतिध्वनित भइरहेको थियो । यो गलत काम हो,यस्ता उमेरमा त यस्ता कुरा सोंच्नु पनि हुँदैन भने उसलाई कसैले बुझाउन पनि सक्दैन किनभने ऊ स्वयं समझदार व्यक्ति हो । यस्ता उल्झनमा परेका कैयांै व्यक्तिहरुलाई गुलशन सही बाटोमा ल्याएको थियो । तर डाक्टर आफ्नो रोग आफै कहाँ ठीक गर्न सक्छ र !
एघार दिनमा हरियाणादेखि नयाँ दिल्लीसम्म गुलशनले भ्रमण गरेका ठाउँहरु प्रायः धार्मिक स्थल नै थिए । विभिन्न आरोह अवरोह पार गर्दै ऊ आज अर्धसतकको पूर्व सन्ध्यामा प्रवेश गरिसकेको थियो । आजसम्म के के गरियो भने कुराको हिसाब नराखी अब बाँकी जीवनका क्षणहरु जीवनका सार्थकता खोज्ने प्रयासमा बितून् भने उसको चाहना थियो । प्रकृतिले मानिसको कदमलाई उसले गहिरोरुपमा सोंचिराख्ने विषयवस्तुतर्फ डोर्याइरहेका हुन्छन् । आध्यात्मिक ऊर्जा महसूस गर्न ऊ विभिन्न धार्मिक स्थल भ्रमण गर्दै थियो । अक्षरधामको थिएटर हेर्दा दुई ठाउँमा ज्यादै भावुक भइ उसको आँखा रसाएको थियो । केही दिनदेखि शाकाहारी भोजन मात्र गर्दै गरेको गुलशन ‘शाकाहारी आहार ग्रहण गर्दा जति सुन्दर सोंच र विचार मनमा आउँछ ,त्यति मांसाहारी अवस्थामा आउँदैन ’ भने फरकपना स्पष्टरुपमा अनुभव गरेको थियो ।
साँच्चि केही दिन पनि नबित्दै देवी देवताहरुको मन्दिरमा श्रद्धापूर्वक गरेको आराधनाको प्रभाव के कम हुँदै गइरहेको थियो त ? नत्रभने निर्णय लिन किन ढिलाइ गर्थ्यो ! एक दिनले हुँदैन सायद । त्यसैले होला ‘सतसङ्गमा गइराख्नु पर्छ ’ भन्छन् साधुसन्तहरु । ‘आह ! ’ ऊ लामो सुस्केरा लियो र टेबुलमाथि राखिएको भिक्स भेपो रबको बट्टा खोलेर भिक्स निधारमा लगायो । ऊ एकछिन सोच्यो,आँखाको ढकनीले आँखा थिच्यो र पार्लर जाने निश्चय गर्यो । कथम्कदाचित् कुनै अपशकुन भइ हाल्यो भने सोंचेर आफ्नो पर्सबाट परिचय पत्र र एटीएम कार्ड निकाली कोठामै राख्यो । पर्समा दूई हजार मात्र राखेर बाँकी रुपैयाँ पनि कोठामै राख्यो । ‘साहित्य सिर्जनलाई बलियो पार्न यस्ता ठाउँहरुको अनुभव लिनै पर्छ मैले ’ भने साहित्यको आडमा जाने फैसला गर्यो तर मन चाहिं हलुको भएको थिएन । उठ्नै लागेको थियो कि ह्वाट्सएपमा भिडियो कलको रिंगटोन आयो । हेर्यो–कल पत्नी नीताको थियो । एकछिन सोच्यो,अनि भिडियो कल उठायो ।“हाँ ऽऽ कथि करै छि ?”सधैंको जस्तो नीताले आफ्नो भाषामा संवाद शुरु गरी । “ न किछो ” भने गुलशनले जवाफ दियो ।
“ खाना खानु भयो ?”
“ अहिले खाएको छुइनँ , अब जाँदै छु खाना खान ”
“ बाप.. रे बाप..,अहिलेसम्म खाना खानु भएको छैन ! दस बजिसक्यो , जानुस् छिटो खाना खाएर आउनुस् ,आएपछि कुरा गरौंला ” नीता झर्किदै भनिन् । “मन त ठीक छ नि ? ” गुलशनको अनुहार अलि ओर्लेको जस्तो देखेर नीता फेरि सोधिन् ।
“ शकुरपुर पुगेर केही बेर अघि मात्र आएकोले थकाइ जस्तो लागेछ । ”
“ जानुस् ,पहिले खाना खाएर आउनुस् ।
”भिडियो कल अफ भयो । मन झन् भारी हुँदै गयो । चेतन अवचेतन मनमा पत्नी नीताकै विषयले उसलाई निर्णय लिनमा अप्ठ्यारो पारिरहेको थियो । अरु केही थिएन ,नीतालाई धोका दिन उसको आँट पुगिरहेको थिएन । नीतालाई यहाँ हुने हर्कतबारे त थाहा हुने कुरै थिएन , तर ऊप्रति नीताले गरेकी विश्वासको के हुन्थ्यो ? कुन मुखले ऊ घर जाने थियो ? पत्नीसँग कसरी आँखामा आँखा जुधाएर भ्रमणका अनुभवहरु सुनाउँथ्यो होला ? आखिर पत्नीकै प्रोत्साहनले ऊ दिल्लीसम्मको भ्रमण गरेको थियो । पतिले विश्वास गुम्न नदिनु नै पत्नीको श्रेष्ठतम् गहना हो । एक असल स्त्रीलाई लताकपडा र गरगहनामा होइन , उसको पति केबल उसकै रहनुमा गौरव महसूस हुन्छ । यी कुराहरुm उसको चेतनाको तारामण्डलमा टिम्टिमाइरहेका थिए ।
“ कहिले समाजको कुरा गर्छौ,कहिले पदको कुरा गर्छौ, कहिले देशको कुरा गर्छौ,कहिले पत्नीको बारेमा सोच्छौ । मतलब दूनियाँको बारेमा किन त्यति सोंच्छौं ? यही सोंचले गर्दा त तिमी पछाडि परेछौं । दूनियाँभरको लाज र डर तिमीलाई नै किन छ ? अब जीवनमा केही गर्नु पर्छ भने सोंच पनि राख्ने, दूनियाँबाट पनि डराउने ,यो कस्तो सोंच हो ?जाने भए जाऊ,नजाने भए नजाऊ, जान तिमी–जानोस् तिम्रो साहित्य । ” अन्तिम पटक उसको अन्तरआत्माले घच्घच्यायो ।
ऊ कोठाबाट तल झर्यो ,काउण्टरमा सोध्यो– “ कति बजेसम्म ढोका खुला रहन्छ ?” काउण्टर इन्चार्जले “एक बजेसम्म” भन्यो । ऊ बाहिर निस्क्यो र केटीएम फुड हाउसतिर लाग्यो । पहाडगञ्ज टुरिष्ट एरिया भएकोले सबै होटलहरु खुला नै थिए । गल्लीहरु रमझमको वातावरणले गुञ्जयमान थिए । खुट्टा यसरी लडखडाउँदै विस्तारै अगाडि बढिरहेको थियो कि मानौ उसको टाउकोमा थेग्नै नसकिने पोकाको भारी थियो । ऊ अगाडि बढ्दै थियो तर उसको कल्पना सागरमा पार्लरको केटीको लहर तैरिरहेको थिएन , उसको सम्झना पटलमा त नीताको अनुहार जुम भएर आइरहेको थियो । उसले गरेकी अथाह प्रेम, उसले गरेकी विश्वासमा उसका कदमहरु जेलिदै गइरहेका थिए । भ्रमणको क्रममा उसले गरेका पोष्टहरुमा नीताले गरेकी कमेन्टस उसको स्मृतिस्क्रिनमा एकएक गरी उगेर आइरहेको थियो । कुनै पोष्टमा ‘इन्जोय एण्ड बी सेफ’ कुनैमा ‘ह्यापी जोर्नी’ कुनैमा पानको पात अथवा मुटुको संकेत हालेर नीताले कमेन्ट गरेकी थिई । उसका कमेन्टहरुमा एक कमेन्ट गुलशनले धेरैचोटि पढेको थियो–‘इन्जोय योर ट्रिप डियर हस्बैण्डजी ।
’ जब जब फुर्सद पाउँथ्यो, ऊ मोवाइल खोलेर हेरिहाल्थ्यो–‘डियर हस्बैण्डजी ।’ सायद यही शब्द–शक्तिले भ्रमणको अन्तिम दिनसम्म उसलाई अनुशासित बनाइ राखेको थियो । ऊ यसप्रकार अगाडि बढ्दैथियो,मानौ ऊ कहीं गइ नै रहेको थिएन । होटलहरु रंगिन बत्तीले चक्कमक्क थिए । नजिकैको एक डान्स बारबाट संगीतको धुन टड्कारै आइरहेको थियो–‘ आज की रात मज्जा हुश्न का, आँखों से लिजीए…।’ संगीतप्रेमी गुलशनलाई आज त्यो धुनले कत्ति पनि छोएन । माथि हेर्यो–पातलो कालो बादलभित्रबाट चन्द्रमा मुस्कुराइरहेको थियो तर गल्ली,चन्द्रमा,आकाश….सम्पूर्ण चीज उसलाई शान्त लागिरहेको थियो । तर किन किन अब उसको मन केही हल्का हुँदै थियो । मसाज पार्लर आइपुग्यो । ड्यटीमा त्यही केटा । “बहुत देर करदिए अंकलजी , ग्यारह बज गया है , जाइए अन्दर जल्दी । ” केटो यसप्रकार भन्यो जस्तो कि ऊ पूर्ण निश्चयसाथ आएको थियो ।
त्यही क्षण एउटी युवती कहाँबाट आई र पार्लरभित्र गई । ऊ जिन्स र हाफ फ्रक लगाएकी थिई । चश्मा उसको कपालमा झुण्डिरहेको थियो । “देखा अंकल , यहाँ ऐसी ऐसी रहती है ।” गुलशन केटीलाई पनि हेर्यो ,त्यो केटाको कुरा पनि सुन्यो तर उसको अनुहारले कुनै प्रतिक्रिया देखाएन । “अब पार्लर बन्द होनेबाला है, जल्दी किजीए,फिर हमको कार से इस लडकी को पहुँचाना भी है ।” केटो हतारिएर भन्यो । गुलशनको अनुहाुुरमा नर्भसताको कुनै संकेत थिएन–बिल्कुल शान्त । त्यो केटोले आफ्नो हातमा राखेको पैसा देखाउँदै गुलशनलाई भन्यो–“ देख रहे हैं ,उसी के लिए सिगरेट लाने जा रहे हैं ।
थोडा रुक जाइए,किराने दोकान से सिगरेट ले कर आ रहे हैंं ,तब हम आप को अन्दर लेकर जायेंगे । ” भन्दै त्यो केटो पसलतिर गयो । गुलशन माथि हेर्यो –चन्द्रमा कालो बादलबाट बाहिर निस्किसकेको थियो । गुलशनको हृदय–आकाशमा ‘डियर हस्बैण्डजी’ शब्द बिजुली जस्तो चम्कदैथियो ।“म जान्नँ भित्र , मलाई चाहिएन अनुभव , भलै मेरो साहित्य कमजोर होस् तर म जान्नँ ” भन्दै त्यो केटो पसलबाट फर्कनुभन्दा पहिले नै गुलशन आफू बस्ने होटल फर्किसकेको थियो ।