
जनकपुरधाम- मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय अगाडि सहिद परिवारका सदस्यहरुले धर्ना दिएका छन् । आइतबार मधेस भवन भित्र रहेको मन्त्रालय अगाडि सहिद परिवारलाई रोजगारी दिनुपर्नेलगायतका मागसहित धर्ना दिएका हुन् ।
मधेसी सहिद प्रतिष्ठानको रिक्त पदमा सदस्य नियुक्त गर्नुपर्ने, हरेक सहिद परिवारलाई रोजगारी दिनुपर्ने र सबैको स्वास्थ्य बिमा हुनुपर्ने माग राखेर धर्ना दिएको बाराका सहिद परिवारका अवधेशप्रसाद पट्टेलले बताए ।
उनले गत फागुनमै प्रतिष्ठानमा दुई सदस्य पद रिक्त भएपनि प्रदेश सरकारले हालसम्म सदस्य नियुक्त गर्न चासो नै नदेखाएको आरोप लगाए ।
उनले सदस्य पदको नियुक्तिका लागि निवेदन दिएर मुख्यमन्त्री र मन्त्रीसँग भेटघाट गर्दा एक हप्ताको समय मागेकोमा अहिलेसम्म यसका कुनै चासो नलिएको उनले बताए ।
विगतको सरकारले एक सहिद परिवार, एक रोजगार कार्यक्रममार्फत सहिद परिवारका व्यक्तिलाई रोजगारी दिएपनि अहिलेको सरकारले हटाउने प्रक्रिया अगाडि बढाएको सहिद परिवारको आरोप छ ।
अहिले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा गठबन्धनको सरकार रहेको छ ।