
धनुषा - धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका– ६ स्थित लक्ष्मीपुर टोलमा आइतबार मध्यरातमा तीन दर्जनभन्दा बढी प्रहरीको टोलीले छापामार शैलीमा एक घरमा घेराउ गरी बलपूर्वक प्रवेश गरेको घटनाले स्थानीय वासिन्दाहरूमा त्रास फैलिएको छ ।
धनुषा प्रहरीको सो कारबाहीमा महिलाहरूलाई दुव्र्यवहार, कुटपिट र घरमा रहेको सम्पत्तिमा तोडफोड गरेको आरोप लागेको छ । घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र पीडित पक्षले जनाए अनुसार भोगेन्द्र यादवको घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छतबाट प्रवेश गरी घरका चुकुलहरू फोड्दै घरभित्र छापा मारेको छ ।
एमालेका मुखियापट्टी मुसहरनीया नगर अध्यक्ष सुशील यादवले पत्रकार सम्मेलनमार्फत प्रहरीको यो कार्यलाई ‘रातको आतंकराज’ भनी टिप्पणी गरेका छन् । घटनाको पृष्ठभूमिमा स्थानीय राजनीतिक द्वन्द्व रहेको आशंका गरिएको छ । सुशील यादवले उनको र जसपा नेपालका नेता वीरेन्द्र छोटेबीच विगतमा सामान्य भनाभन भएको बताउँदै त्यही घटनालाई लिएर विरेन्द्र छोटे पक्षले दबाबमा मुद्दा हालेर आफ्ना नातेदारहरूलाई फसाउने प्रयास गरिरहेको उनले दाबी गरे ।
फुलगामा प्रहरी चौकीका इन्चार्ज अवधलाल सोनारले घटनामा आफू संलग्न रहेको स्वीकार गर्दै जिल्लाबाट आएको टोलीले साथ दिन भनेपछि आफू पनि गएको बताए । तर जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । रातको समयमा दर्जनौं सुरक्षाकर्मी घरमा पसेर महिलाहरूलाई अपमानजनक व्यवहार गर्दै बक्स, दराज, पलंग जाँच गरेको र कागजपत्र विना बल प्रयोग गरिएको घटनाले गाउँमा ठूलो असन्तोष र असुरक्षा फैलिएको छ ।
स्थानीय बासिन्दाहरूले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । यता घरमा रहेका महिलाहरुले घटनाको क्रममा आफनो मंगल सुत्र,पेटीबाट केहि थान गहना र दुइ लाख नगद हराएको समेत आरोप लगाए ।