
बर्दिवास - पछिल्लो केही दिनदेखि अत्यधिक गर्मी र तातो हावाको प्रभावका कारण मौसमी अवस्था प्रतिकूल बन्दै गएका छन्। यसले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएको भन्दै बर्दिवास नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू असार १ गतेदेखि ३ गतेसम्म तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाको शिक्षा शाखाको मिति २०८२ साल जेठ ३० गते बसेको बैठकको निर्णयअनुसार गर्मीको कारण सिर्जना भएको असहज अवस्था र विद्यार्थीको स्वास्थ्यमा पर्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय लिइएको हो। विद्यालयहरूमा हुने पठनपाठन शैक्षिक सत्र २०८२ को बर्षे बिदाबाट कट्टा हुने गरी बन्द गरिने जानकारी सूचनामार्फत सार्वजनिक गरिएको छ।
यसैगरी नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले विद्यार्थीहरू अत्यधिक गर्मीका कारण स्कूल जान कठिन हुन थालेपछि यस्तो निर्णय गर्नु परेको बताए। उनले भने, “बालबालिकाको स्वास्थ्य पहिलो प्राथमिकता हो, त्यसैले केही दिनको पठनपाठन स्थगन गर्नु उपयुक्त ठानिएको छ।”
बर्दिवास नगरपालिकाले सबै विद्यालयहरूलाई निर्णयको पालना गर्न आग्रह गर्दै, अभिभावकहरूलाई पनि यस अवधिमा घरमै बालबालिकाको उचित स्याहार र निगरानी गर्न अनुरोध गरेको छ।
विद्यालय बन्दको निर्णयले विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई अस्थायी राहत मिलेको छ। स्थानीय अभिभावक सीता यादव भन्छिन्, “गर्मी यति बढेको छ कि छोराछोरी स्कूल जान सक्ने अवस्थामा छैनन्। नगरपालिकाको निर्णय सह्रानीय छ।”
तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगिरहेको वर्तमान अवस्थामा यस्तो निर्णयले विद्यार्थीको स्वास्थ्य र सुरक्षामा प्राथमिकता दिएको सन्देश दिएको छ। नगर शिक्षा शाखाले यदि गर्मी यथावत् रहेमा थप निर्णय गरिने संकेतसमेत गरेको छ।
