
महोत्तरी - मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शान्तिसुरक्षा तथा अमनचयन कायम गर्ने कुरामा नेपाल प्रहरीको सक्रियता सराहनीय रहेको भन्दै विभिन्न सामाजिक र कानुनी मुद्दामा नेपाल प्रहरीसँग बढ्दो जनअपेक्षाले पनि न्याय सुनिश्चितता प्रक्रियामा सुरक्षा निकायको दायित्व अत्यधिक रहेको प्रस्ट्याएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार मटिहानीमा आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रममा नगरप्रमुख मण्डलले अपराध नियन्त्रण, हिँसा न्यूनीकरण र सद्भावपूर्ण सामाजिक वातावरण कायम गर्न प्रहरी र जनताबीचको साझेदारी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।
उनले भने, ‘सदाचार र नैतिकताले प्रहरीलाई कर्तव्यनिष्ठ बनाउँछ भने प्रहरीले गर्ने कार्यसम्पादनमा सहयोगले नागरिकलाई असल बनाउँछ । त्यसैले विधि र न्यायको पालना गर्न राज्य तथा नागरिक दुवै पक्षलाई संवेदनशील हुनुपर्छ ।’
महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको अध्यक्षतामा भएको सार्वजनिक सुनवाइमा मटिहानीका बासिन्दाले प्रहरी संगठनसँगको नागरिक अपेक्षाबारे खुलेरै बोलेका थिए । प्रहरी र जनताबीचको सम्बन्धमा विश्वास र सहकार्यको भूमिका महत्त्वपूर्ण हुने भन्दै सुनुवाइमा सहभागी स्थानीयले सुरक्षित तथा समृद्ध समाज निर्माणमा प्रहरीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक हेरम्ब शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ९ हेडक्वाटरका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्ट, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उपनिर्देशक सुदीप अधिकारी, मटिहानी नगरपालिकाका उपप्रमुख मञ्जुदेवी साहलगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारीहरू र स्थानीयको सहभागिता रहेको थियो ।

स्रोत : टोलपडोस