
महोत्तरी - महोत्तरीको बर्दिवास नगरपालिका–७ स्थित फुलवारी टोलमा गएराति स्यालको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन्। आफ्नै घरमा सुतिरहेका ६३ वर्षीय दुखिया सदा राति करिब ३ बजेतिर स्यालको आक्रमणमा परेका हुन्।
आक्रमणबाट सदाको अनुहारमा गम्भीर चोटपटक लागेको छ। विशेषगरी उनको चिउडोको भागमा स्यालले चिथोरेर मासु नै ननिकालेपछि उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। रातको समयमा एक्लै सुतिरहेका सदा अचानक स्यालको आक्रमणमा परेका थिए।
दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका सदा अति विपन्न परिवारका हुन्। आक्रमणपछि स्थानीयवासीले तत्काल उनलाई उद्धार गरी बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा भर्ना गराएका छन्। हाल सोही अस्पतालमा उनको उपचार जारी रहेको नेपाली कांग्रेसका बर्दिवास नगरपालिकाका नगर सभापती युवराज पोखरेलले जानकारी दिए ।
सदाको आक्रमणको घटनाप्रति बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले घटनाप्रति दुःख व्यक्त गर्दै सदाको उपचारमा नगरपालिका सहयोग गर्न तयार रहेको बताएका छन्। उनले भने, “यो एक निकै दुखद र चिन्ताजनक घटना हो। विपन्न नागरिकको जीवन सुरक्षाका लागि नगरपालिका जिम्मेवार छ। हामी उहाँको उपचारमा सहयोग पु¥याउनेछौं।”
स्थानियबासीहरूका अनुसार पछिल्लो समय फुलवारी टोल तथा आसपासका क्षेत्रमा जंगली जनावर देखिनु सामान्य भइसकेको छ। खासगरी रातिको समयमा जंगली स्याल र निलगाईजस्ता जनावरहरू बस्तीमा प्रवेश गरेर आक्रामक गतिविधि गर्न थालेका छन्। यसले स्थानीयवासीहरूमा त्रास बढाएको छ।