महोत्तरी - औरही नगरपालिकामा ब्युटिसियन तालिम सुरु भएको छ।औरही नगरपालिकाको आर्थिक सहयोग र सरिता फाउन्डेसनको आयोजनामा आज सोमबारबाट ब्युटिसियन तालिम औरही नगरपालिका वडा नम्बर २ स्थित श्री प्रसाद सिंह माविको हालमा सुरु भएको हो।
सोमबार तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा औरही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीको उपस्थिति रहेको थियो । साथै विशेष अतिथिका रूपमा वडा नं. ७ का अध्यक्ष जितेन्द्र यादव, वडा नं. ३ का अध्यक्ष रामकेवल यादव, वडा नं. २ का अध्यक्ष दरेश यादव, वडा नं. ८ की वडा सदस्य इन्दु सदा,श्री प्रसाद सिंह मावि बिधालयका प्राध्यापक शिवशरण यादव र महिला शाखा प्रमुख रीता ओली सहभागी थिए ।

सो अवसरमा वडा नम्बर ७ का वडा अध्यक्ष जितेन्द्र यादवले आधारभूत सिप सिकेका महिलाहरुलाई ब्युटिसियन तालिम सिकेर स्वरोजगार बन्ने अवसर नगरले दिएको बताए।सिप सिकेपछि व्यवसायिक बनेर आत्मनिर्भर बन्न पनि अध्यक्ष यादवले तालिममा सहभागीहरुलाई आग्रह गरेका छन् ।

सरिता फाउन्डेसनका संचालक सरिता साहले भने नगरको लगानीमा सुरु गरिएको तालिम सिकेपछि स्वरोजगार बन्न आग्रह गरिन्। यस किसिमका तालिमले गरिबी न्यूनीकरणमा टेवा पुग्ने उनको भनाइ थियो।तालिमका मुख्य प्रशिक्षक रन्जिता साहले आधारभूत सिप सिकेकालाई ब्युटिसियन तालिम दिएर स्वरोजगार बनाउन खोजिएको बताइन्।

नगरले गरेको लगानीलाई प्रतिफल देखिने गरी सिप सिक्न पनि उनले सहभागीलाई आग्रह गरिन्। तालिमका सहायक प्रशिक्षक सीता चौधरी,उर्मिला चौधरी रहेको छ।उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य वडा नम्बर २ का वडा अध्यक्ष दरेश यादवले गरेका थिए।

तालिमका सहायक प्रशिक्षक सीता चौधरीले कार्यक्रममा सहभागी भएका महिलाहरु लाई तालिम सम्बन्धी निर्देशन दिएका थिए।तालिममा औरही नगरपालिका वडा नम्बर १ देखि ९ वडाका वडाबाट ३० जना महिलाहरूको सहभागितामा तालिम सुरु रहेको छ।








