महोत्तरी - महाेत्तरीकाे रामगोपालपुर नगरपालिका वडा नं. १, २, ५ र ९ का आठवटा श्रमिक महिला समूहहरूको प्रतिनिधित्व गर्दै ३३ जना श्रमिक महिलाहरूले सोमबार नगर प्रमुख राम दुलार साहलाई १३ बुँदे मागपत्र बुझाएका छन् ।
महिला श्रमिक अभियानकर्मी फुलो देवी शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले श्रमिक महिलाहरूले भोग्दै आएको न्यूनतम ज्यालाको अभाव, श्रमजन्य हिंसा, सामाजिक सुरक्षाको कमी जस्ता आठवटा प्रमुख मुद्धाहरू उठाउँदै ती समाधानका लागि नगरपालिकाको सक्रिय पहल आवश्यक रहेको स्पष्ट पारेको छ ।

ज्ञापन–पत्र बुझ्दै नगर प्रमुख साहले महिलाहरूको यो समुहबद्ध आवाजलाई ऐतिहासिक र उदाहरणीय भन्दै प्रशंसा गरे । “अहिलेसम्म कुनै महिला समूहले ज्यालादर, हिंसा वा सामाजिक सुरक्षाजस्ता विषयमा औपचारिक रूपमा नगरपालिका समक्ष आवाज उठाएको थिएन,” उनले भने, “आज ३३ जना महिलाहरू एकजुट भई आफ्नो हकहितका लागि बोल्नु आफैंमा एक परिवर्तनको संकेत हो ।”

उनले आगामी योजनाहरूमा श्रमिक महिलाहरूको माग समावेश गर्दै आवश्यक बजेट छुट्याइने प्रतिबद्धता जनाए। साथै, प्रत्येक वडामा एक–एक दिनको संवाद कार्यक्रम सञ्चालन गर्ने योजना रहेको समेत बताए ।
ज्ञापन–पत्रमा काम गर्ने वातावरण सुधार, लैङ्गिक विभेद विरुद्ध कानुनी सहायता, महिला लक्षित तालिम कार्यक्रम र श्रमिक अधिकारसम्बन्धी सचेतना विस्तारको माग गरिएको छ ।
उक्त अभियान स्थानीय अधिकार कार्यक्रम (LRP–41) अन्तर्गत रतौली युवा क्लब को समन्वयमा सञ्चालन गरिएको हो। सहभागी महिलाहरूले आगामी दिनमा श्रमिक अधिकारको सुनिश्चितताका लागि अझ सशक्त र संगठित रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।






