जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले शनिबार आयोजना गरेको सम्वाद कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले भने,‘फोहोर व्यवस्थापनको लागि दुई वर्षको समय तोकेको छु।’



ल्याण्डफील साइटको लागि १० बिघा जग्गा लिजमा लिनका लागि प्रक्रियासमेत थालिसकेको जानकारी दिँदै उनलेसो जग्गाको लागि नापी ,मालपोत लगायतको कार्यालयबाट सहमति लिनुपर्ने तथा जिल्ला प्रशासन कार्यालयबाट समेत आदेश जारी हुनुपर्ने भएकोले यी कामहरु अगाडि बढिसकेको बताए । ‘आगामी ३० दिन भित्रै ल्याण्डफील साइटसम्म सडक निर्माण गर्दै विद्युत पुर्याएर हामीले दिनेछौं ।’-उनले जानकारी दिए ।
फोहोर व्यवस्थापनको लागि प्लान्ट लगायतका कामको लागि लामो समय लाग्ने भए पनि ६ महिना भित्रमै सरसफाईमा काम गरिरहेको अुनुभूति नगरवासीहरुले गर्ने विश्वास नगर प्रमुखसाहले व्यक्त गरे ।
नगरको मुख्य बजार क्षेत्रका सडकको ट्राफिक व्यवस्थापनको निम्ति फुटपाथ व्यवसायीहरुमाथि कारवाही गरिएको बताउँदै उनले भने,‘फुटपाथ व्यवसायीहरुकै कारण नगरको ट्राफिक मात्र प्रभावित हुँदैन नगर कुरुप समेत देखिने गरेको छ ,।’
नगर प्रमुख साहले जानकी मन्दिर वरिपरि फुल बेच्नेहरुको व्यवस्थापन गरिने भए पनि अन्य फलका ठेला लगायतका फु्टपाथका व्यवसायको अन्यत्र व्यवस्थापन गर्ने तर सोको लागि केहि समय भने अवश्य लाग्न सक्ने उल्लेख गरे ।
फलको ठेलाहरुकै आतंकको कारण अस्पताल सडक जत्तिखेर पनि ट्राफिक अस्त व्यस्त रहने गरेकोले फलको ठेलाको व्यवस्थापन गर्न नसकिने उनले स्पष्ट पारे । ठेलामा हुने व्यापार घुम्ति अर्थात डुलि-डुली व्यवसाय गर्नु पर्नेमा सडक नै जाम गरेर व्यवसाय गर्नुले व्यवसायको संस्कार नै बिग्रिसकेकोले यसमाथि कडाई आवश्यक रहेको मेयर साहको धारणा छ ।
यस वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भइसकेको जानकारी दिँदै उनले फोहोर व्यवस्थापन र नगरको सौन्दर्यकरणलाई मुख्य केन्द्रबिन्दुमा राखेर काम थालिसकेको बताए ।




