
महोत्तरी - मुस्लिम समुदायले इस्लाम धर्मको महत्त्वपूर्ण धार्मिक पर्व ताजिया (दाहा) यस वर्ष पनि औरही नगरपालिका लगायत मधेस प्रदेशका विभिन्न स्थानमा श्रद्धा र भव्यताका साथ मनाएका छन्।
आइतबार औरही नगरपालिका–१ स्थित औरही बजारमा ताजिया पर्व मनाइएको हो। यस अवसरमा श्रीपुर (वडा ३), बलवा नगरपालिका–१० रौजा मजार, सम्सी गाउँपालिका–१ पर्सा, गौशाला नगरपालिका–५, लोहरपट्टी नगरपालिका, मटिहानी नगरपालिका लगायतका स्थानहरूमा मुस्लिम समुदायले आफ्ना घरमै बनाएको ताजिया (दाहा) रौनमा राखी श्रद्धापूर्वक मनाएका थिए।

ताजिया मेलाको अवसरमा युवाहरूले विभिन्न प्रकारका कलात्मक प्रदर्शन (खेलकुद, झाँकी आदि) गरेका थिए भने महिलाहरूले हसन–हुसैनको सम्झनामा पारम्परिक गीत गाउने परम्परा निभाएका थिए। इस्लामिक क्यालेन्डर अनुसार अहिले मोहर्रम महिना चलिरहेको छ, जुन इस्लामिक वर्षको पहिलो महिना हो। यस महिनामै इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हसन र हुसैनले इस्लाम धर्मको रक्षाका लागि आफ्नाे जीवन बलिदान दिएका थिए।

औरही नगरपालिका–१ निवासी मोतिबुल लहेरीका अनुसार, हजरत हुसैनले इस्लाम धर्मका अनुयायीहरू स्वर्ग (जन्नत) पुगुन् भनेर अल्लाहसँग प्रार्थना गरेका थिए। उनले आफ्नाे बलिदानद्वारा धर्मको रक्षा गरेका थिए। कुरान अनुसार, नवाज पढ्ने क्रममा सधैं रोइरहने हुसैनलाई अल्लाहले कारण सोध्दा, उनले मुस्लिम उम्मतका लागि बलिदानको संकल्प गरे।
अल्लाहसँग भएको वाचा अनुसार हुसैन कर्रबला, बग्दादमा मोहर्रमको नवमीको राती शहीद भए। त्यसको सम्झनामा प्रत्येक वर्ष मोहर्रम महिनामा मुस्लिम समुदायले ताजिया पर्व मनाउने गर्दछन्।