महोत्तरी – उमेरले ८२ वर्ष पुगेका माझी मण्डल महोत्तरीको रामगोपालपुर–३ दोलाठी स्थित सौतेनी पोखरीसँग बिताएको बाल्यकाल सम्झेर अहिले पनि नोस्टाल्जिक हुन्छन् । उमेरले ७ वर्षको नेटो काट्दादेखिकै यादहरू अहिले पनि उनको मानसपटलमा उत्तिकै तरोताजा छन् । नुहाउन होस् वा गर्मीमा साथीहरूसँग डुबुल्की मार्न होस्, हरहमेसा पुगिरहने ठाउँ त्यही पोखरी हो । त्यति मात्रै होइन, गाईभैँसीलाई पानी खुवाउने र गर्मी छल्न आहाल बसाउने पनि प्रमुख स्थान थियो ।
जस्तोसुकै गर्मी र खडेरीमा पनि यो पोखरी सुकेन । यो उनले मात्रै देखेको होइन, उनका हजुरबुबाले पनि यही इतिहास सुनाउँथे । तर, अहिले उनलाई हजुरबुबाले सुनाएको इतिहास र आफैँले देखे/भोगेको विषय ‘एकादेशको कथा’झैँ लाग्छ ।



भैँसी आहाल बसेको समयबाहेक यहाँको पानी यति कञ्चन थियो कि– निर्धक्क पिउन सक्थे स्थानीय । ‘त्यतिबेला यो पोखरीको पानी पिउन पनि प्रयोग गरिन्थ्यो, पानी कञ्चन थियो,’ एकैचोटि ५० वर्षअघि फर्किए मण्डल, ‘बिस्तारै सुन्दर पोखरी कुरूप बन्यो । बाह्रै मास भरिभराउ हुथ्यो । अहिले त हिउँद लागेपछि सुक्न थालेको छ ।’ उनलाई बेलाबेला लाग्छ– ऐतिहासिक विरासत बोकेको पोखरीलाई पुनर्जीवन दिनुपर्छ । यसले आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सघाउँछ भन्ने विश्वास उनलाई छ । त्यसका लागि पहल पनि गरे, तर सफल हुन सकेनन् ।
२०२५ सालतिर उनी सोही क्षेत्रको वडाध्यक्ष बने । त्यसबेला अहिले पोखरी रहेको स्थानमा २७ बिगाह क्षेत्रफल जग्गा नापी त गराए । तर, सीमित स्रोतसाधनका कारण पोखरीलाई पुनर्जीवन दिने उनको सपना पूरा हुन सकेन । अहिले पनि बाल्यकालका सम्झना पछ्याउँदै गाउँका किशोरहरूसँगै पोखरीछेउ पुगेर टहलिन्छन् । तर, धमिलो पानीमा माछाहरूको सल्याङबल्याङ र सुक्दै–साँघुरिँदै गएको पोखरीको आकारले मण्डललाई निराश बनाउँछ ।
२७ बिगाह क्षेत्रफलमा फैलिएको यो पोखरीले रामगोपालपुर नगरपालिकाको तल्लो क्षेत्रका उर्बर फाँटहरूलाई सिञ्चित मात्र गरेन, प्राचीन र ऐतिहासिक कथा बनेर उभिएको छ । एकातिर जलवायु परिवर्तनको मार, अर्कातिर स्थानीय सरकारको बेवास्ताका कारण सयौँ वर्ष पुरानो विरासत बोकेको पोखरीको अस्तित्व नै नामेट होला कि भन्ने चिन्ता मण्डलजस्ता सबै पाका स्थानीयलाई छ ।
दन्त्यकथाका रूपमा पुस्तान्तरित हुँदै आएको पोखरीको इतिहासअनुसार यो पोखरीको निर्माण दैत्यहरूले निर्माण गरेका थिए । अर्काथरी बूढापाकाहरूका अनुसार भने यसबारे अर्कै प्रसंग जोडिन्छ । यस क्षेत्रमा शासन गर्ने तत्कालीन कर्णाटवंशी राजाले आफ्ना रानीहरू (सौता–सौता)बीचको झगडा साम्य पार्न पोखरी निर्माण गरेको र सोही आधारमा यसको नाम सौतेनी पोखरी रहन गएको जनश्रुति छ ।
यहाँ वरपर वनकुञ्जले घेरिएको छ । पोखरीको पूर्वतर्फ केही बाबाहरू बस्ने आश्रम बनाइएको छ । आश्रमसँगै मन्दिर निर्माण गरिएको छ र पोखरी दृश्यावोलकनका लागि गोलघरहरू बनाइएको छ । पुरातात्विक र प्राचीन इतिहास बोकेको पोखरी वरपर बनाइएका केही आधुनिक संरचनाले बिस्तारै अस्तित्व मेटिने क्रममा छ । अहिले यो पोखरीलाई नगरको आयआर्जनको माध्यमका रूपमा प्रयोग गर्नेबाहेक अरू केही गरिएको छैन ।
स्थानीय सरकारले यस पोखरीलाई हरेक ५ वर्षका लागि ८० लाख रुपैयाँभन्दा बढीमा माछापालनका लागि ठेक्का लगाउने गरेको छ । यसपालि ठेक्का पाएका ज्ञानी सहनी भन्छन्, ‘यही पोखरीको माछाले महोत्तरीको माछा बजारको ३० प्रतिशत हिस्सा ओगटेको छ ।’ आयआर्जनका साथै पर्यटनका दृष्टिले पनि यो पोखरी महत्वपूर्ण भए पनि सरोकारवालाहरूले वास्ता नगर्दा माछापोखरीमा सीमित बनेको छ ।
पुरातात्विक अध्ययन गर्न स्थानीयको माग
जनश्रुति र किंवदन्तीअनुसार यो पोखरी पुरातात्विक सम्पदा भएको भन्दै स्थानीयले यसको पुरातात्विक अध्ययन गर्न माग गरेका छन् । स्थानीय बूढापाकाहरूको भनाइअनुसार यो महोत्तरीकै सबैभन्दा पुरानो पोखरी हो । पोखरी वरिपरि खन्ने क्रममा ठुला आकारका प्राचीन इटा फेला परेकाले कतिपयले यो क्षेत्रमा मूर्त संरचना वा गढ रहेको अनुमान पनि गरेका छन् ।‘पुरातात्विक रहस्यहरू बुझ्न थप अध्ययन आवश्यक छ,’ स्थानीय रामशरण बैठाले भने, ‘हाम्रा हजुरबुबा, जिजुबुबाहरूले पनि यो पोखरीको वर्णन गर्नुहुन्थ्यो । तर, विस्तृत अध्ययन हुन सकेको छैन । हामीले कैयौँ पटक जनप्रतिनिधिहरूसँग हारगुहार पनि ग¥यौँ, सुनुवाइ हुन सकेन ।’ किंवदन्तीका रूपमा स्थापित भए पनी यो पोखरीको पुरातात्विक र ऐतिहासिक दस्तावेज भने फेला पर्न सकेको छैन । वरपर फेला परेका प्राचीन इटाहरूले भने सौतेनी पोखरीको ऐतिहासिकतालाई बल पु¥याएको छ ।
इतिहास मेटिने गरी भौतिक संरचना निर्माण
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा १ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरी यस क्षेत्रमा केही भौतिक संरचना निर्माण गरिरहेको छ । यसको ठेक्का पाएका ठेकेदार सन्तोष यादवका अनुसार गेट निर्माण, पोखरीसम्म पुग्ने सडक र सौन्दर्यकरण गर्ने प्रक्रिया अघि बढेको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न नगरले सौन्दर्यकरणको योजना अघि बढाए पनि पुरातात्विक अवशेष भने नासिने अवस्थामा पुगेका छन
‘यो पोखरीको नाम पहिलेदेखि सुनेका हौँ । तर, काम गर्नुभन्दा पहिला अध्ययन गरेर मात्र योजना बनाउनुपथ्र्यो,’ स्थानीय भरत ठाकुरले भने, ‘यसले रामगोपालपुरको मुहार फेर्न सक्छ ।’ नगरपालिकाका अनुसार मुख्य सडकबाट पोखरीसम्म जान फराकिलो सडक बनाएर दुइटा गेट निर्माण गरिँदै छ । सडक आसपास फूलहरू रोपेर आकर्षक बनाइँदै छ । पोखरीको वरपर सिमेन्टका संरचनासहित अवलोकन गर्ने ठाउँ बनाउने नगरपालिकाले जनाएको छ । तर, यसले पुरातात्विक अवशेष र महत्वलाई कुरूप बनाउने स्थानीयको गुनासो छ ।





