लहान - जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीको संयुक्त टोलीले लागुऔषध गाँजा ओसारपसार गर्ने एक भरियालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र कुमार पासवानका अनुसार २ क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ ।
गोप्य सूचनाको आधारमा बिहिवार राति अन्दाजी साह्रे दश बजे सिरहाको औरही गाउँपालिका ५ मलाह टोलमा सवारीबाट गाँजा ओसारपसार भइरहेको भन्ने जानकारी पाएपछि प्रहरी टोलीले उक्त ठाउँमा छापा मारेको थियो । टोलीले सो स्थानबाट ७ पोका गाँजा बरामद गरेको छ, जसको तौल २ क्विन्टल १२ किलो ९ सय २५ ग्राम रहेको छ ।
प्रहरीले घटनास्थलमै सवारीसहित पक्राउ परेका २३ वर्षीय राम उदगार मलाह रहेको छ । मलाह औरही गाउँपालिका ५ मलाह टोलको स्थायी बासिन्दा हुन् । प्रहरीले प्र.२-०१-००३ प २१५४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
पक्राउ परेका मलाहलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ भने सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र कुमार पासवानले जनाएको छ ।
सिरहामा डिएसपी पासवान आएपछि लागुऔषध ओसारपसार र तस्करीविरुद्ध कडा कारबाही गर्न थालेपछि लागुऔषध कारोबारीहरूको भागाभाग भएको छ ।




