महोत्तरी - महोत्तरीको बर्दिबासमा अब करदाता सेवा कार्यालय मात्रै होइन, आन्तरिक राजस्व कार्यालय (आईआरओ) समेत सञ्चालनमा आएको छ। बिहीबारदेखि नयाँ सेवाहरू थप गर्दै कार्यालयले कर परीक्षण, निरीक्षण र अनुसन्धानमूलक कामसमेत गर्न थालेको हो।
यसअघि केवल कर संकलनमा सीमित रहेको बर्दिबासस्थित करदाता सेवा कार्यालयले अब पूर्णरूपमा आन्तरिक राजस्व कार्यालयको संरचनामा परिणत भई विस्तारित सेवा दिन थालेको हो। कार्यालय प्रमुख गेहेन्द्रप्रकाश गिरीका अनुसार, कार्यालयले कर संकलन मात्र नभई व्यवसायको लेखापरीक्षण, कर छली अनुसन्धान र कानुनी अनुगमन जस्ता कार्यहरू पनि सञ्चालन गर्नेछ।
सेवा क्षेत्रको हिसाबले पनि कार्यालयको दायरा व्यापक बनेको छ। महोत्तरीको बर्दिबास र गौशालासँगै धनुषाको मिथिला नगरपालिकालाई सेवा दिँदै आएको कार्यालयको कार्यक्षेत्रमा अब सर्लाहीको हरिवन, लालबन्दी र मलङ्गवा, साथै सिन्धुली जिल्लासमेत समावेश भएका छन्।
स्थानीय व्यवसायीहरूका अनुसार, कार्यालयको स्तरोन्नतिसँगै करसम्बन्धी काम गर्न राजधानी जनकपुरधाम धाउनुपर्ने झन्झट हट्नेछ। करका विषयमा प्रत्यक्ष रूपमा बर्दिबासमै सेवा पाउँदा समय र खर्च दुबैको बचत हुने उनीहरूको विश्वास छ।
हाल कार्यालय बर्दिबास मुख्य बजार क्षेत्रमा भाडामा सञ्चालन भइरहेको छ। तर कार्यालयले बर्दिबास–१४ मा रहेको आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिरहेको जानकारी दिएको छ।
बिहीबार आयोजित एक कार्यक्रममा आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले नयाँ सेवाहरूको औपचारिक उद्घाटन गरेसँगै बर्दिबासस्थित कार्यालयले आन्तरिक राजस्व कार्यालयको रूपमा औपचारिक रूपमा सेवा सुरू गरेको घोषणा गरिएको हो।




