जनकपुरधाम – सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मधेश प्रदेशभर तीन महिनाका लागि यस्तो घोषणा गर्ने निर्णय गरेको हो ।
यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनासम्मका लागि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सो सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ,’ एक मन्त्रीले जानकारी दिए ।



सोही ऐनमा, यदि उपदफा १ बमोजिमको अवधि भित्र विपद् नियन्त्रणमा नआएमा, सरकारले राजपत्रमार्फत सूचना प्रकाशित गरी घोषणा गरिएको अवधि थप गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
हाल मधेश प्रदेश गम्भीर खडेरी र सुक्खाको चपेटामा परेको छ । वर्षा नहुँदा खानेपानी र सिंचाइ प्रणालीमा व्यापक असर परेको छ । नेपालको अन्न भण्डार मानिने तराई–मधेशमा मनसुन सुरु भएको डेढ महिनासम्म पनि पर्याप्त पानी नपर्दा किसानहरूले धान रोप्न सकेका छैनन् । रोपिएका खेत पनि पानीको अभावले चिरा परेका छन् भने इनार र ट्युबेलहरू सुकेका छन् ।
यही साउन ५ गते मुख्यसचिवले बोलाएको सचिवहरूको बैठकले मधेशमा खानेपानी तथा सिंचाइ समस्या समाधानका लागि गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिने निर्णय गरेको थियो ।
स्थानीय तहको पहलबाट समाधान हुन नसक्ने समस्याहरूका लागि प्रदेश र संघीय सरकारले आवश्यक निर्णय गर्ने तर त्यसअघि मधेश प्रदेशका सबै जिल्लाका विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय हुनुपर्ने र त्यसको विवरण गृह मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाइने पनि सचिव बैठकले निर्णय गरेको छ ।
कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार, साउन ४ गतेसम्म मधेश प्रदेशमा जम्मा ४६ प्रतिशत मात्र धान रोपाइँ भएको छ। मधेशका ३ लाख ७२ हजार ६४५ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये हालसम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।
पानीको अभावका कारण उत्पन्न भएको संकटका बीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तत्काल र दीर्घकालीन समाधानका उपायहरू अध्ययन गर्न प्राविधिक टोली पठाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार, टोलीले समस्या समाधानका लागि सम्भाव्य विकल्पहरू समेत सुझाव दिनेछ ।




