बेचन महतो
तराई मधेशमा पानीको हाहाकार, आँगनका कलहरु सुके, खेतमा धाँजा फाटे, पानीको लागि काकाकुल जनता जस्ता समाचारहरुले अचेल दिनहु जसो सवैको ध्यानाकर्षण गराउँदै आएको छ । एकातिर पानीको अभावमा छटपटिएको जनजिवन अर्को तर्फ औषत दैनिक ४० डिग्रि सेल्सियस भन्दा माथिको तापक्रमले समग्र तराई मधेशको दैनिकीलाई अत्यन्तै पिडादायी बनाएको छ । पानी नपरेको पनि २० दिन भन्दा बढि भई सकेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याँक अनुसार २०७९ को हिउँदमा १२.९ मिलिमिटर मात्रै वर्षा भएको थियो । त्यस अघि सबै भन्दा कम हिउँदे वर्षा २०६५ मा ११.५ मिलिमिटर भएको थियो । जब कि हिउँदमा ६०.१ मिलिमिटर वर्षालाई औषत मानिन्छ । भूमिगत जलश्रोतको अत्यधिक दोहनका कारण सुख्खायाममा काठमांडौमा ईनार र तराई मधेशमा चापाकल तथा बोरिङको पानी सुक्ने क्रम बढेको छ । यस वर्ष हिउँदमा कम पानी परे पनि प्रिमनसुन (मार्च-मे) मा औषत पानी पर्दा केहि राहत मिले पनि प्रिमनसुनमा २०९.८ मिलिमिटर वर्षा हुनु पर्नेमा जम्मा ९७.७ मिलिमिटर वर्षा भएको छ । तर जेष्ठ १५ गते देखि निरन्तर उकालो लागेको मुलुकको तापक्रमले तराई – मधेशमा त लु नै चल्न थालेको छ । जनता पानीको लागि त्राहीमाम छन् । वर्षाको लागि कतै भ्यागुतोको बिहे गराईएको छ त कतै देविदेवताको भाकल गरी पुजा गरिएको छ । तर पनि ईन्द्रदवको मन पग्लिएको छैन, बरुण महाराज अझै पाताल लोकको यात्रामा हुनु हुन्छ । सरकार कुम्भकणर्को निन्द्रामा छ । सबैले हे भगवान पानी देउ, सरकार पानी देउ भनेका छन् ।



पानी सदुपयोग फाउन्डेसन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले नेपालका पहाडी र हिमाली भेगका ३०० पालिकाहरूमा गरेको सर्वेक्षणमा आधारित अनुसन्धान प्रतिवेदन अनुसार करिब ७४ प्रतिशत पालिकामा पानीका मूल सुक्ने र ५८ प्रतिशतमा मूल सर्ने घटना पाइएको देखाएको छ । क्षेत्रगत रूपमा भन्दा चुरे क्षेत्रका पालिकाहरूमा मुहान सुक्ने समस्या सबैभन्दा बढी छ । तथापि यसअघि गरिएका अन्य अध्ययनहरुले पनि नेपालमा केही दशकयता पानीका मूलहरू सुक्दै गइरहेको देखाएकाछन् । जस्तै— त्रिभुवन विश्वविद्यालय अन्तर्गतको भूगोल केन्द्रीय विभागका अध्येताहरूले मध्यपहाडको मेलम्ची क्षेत्रमा गरिएका अध्ययन र युथ एलाइन्स फर इन्भाइरोमेन्टका अध्येताहरूले खोटाङ, नुवाकोट, सुर्खेत, डडेलधुरा जिल्लामा गरेका अध्ययनहरूले त्यहाँ पानीका मूल सुक्ने क्रममातीव्रता आएको देखाएकाछन् । तनहुँमा गरिएको अध्ययनले पनि ६३ प्रतिशत मूलमा पानीको मात्रा कम भएको देखाएको थियो । छरिएका सीमित अध्ययन भएपनि सबैको निष्कर्ष छ—केही दशकयता पूर्वदेखि पश्चिम नेपालसम्म र हिमाल देखि मध्य पहाड, चुरे र तराई भूभागमा पानीका मुहान सुक्दै गएको देखिएको छ । सुक्ने क्रमको सूचना गोरखा भूकम्पपछि तीव्र भएको देखिन्छ । एक प्रतिवेदन अनुसार, २०७२ सालको गोरखा भूकम्पका कारण देशभरका करिब ५००० मुहान र इनारहरू सुकेका थिए । त्यसो त उक्त भूकम्प पछि कतिपय ठाउँमा नयाँ मुहान पनि देखिए र कतिपय मूलमा पानीको परिमाण झन् बढी देखियो । काठमाडौं उपत्यकाका केही ढुंगेधारामा भूकम्प पछि पानीको मात्रा बढेको थियो । पानीको मुहान सुक्ने क्रम नेपालमा मात्रै होइन, केही दशक यता समग्र हिमालय क्षेत्रमा पनि बढिरहेको छ । भुटान, भारत र पाकिस्तानमा भएका अध्ययनहरूले यस कुरोलाई पुष्टी गरेको छ ।
त्यसकारण यस्ता पानीका मूलहरू सुक्दै जाँदा दैनिक मानवीय जीवन र जीविकामा मात्रै होइन, जैविक विविधता र पर्यावरणमा पनि नकारात्मक असर पुगेको छ । जस्तै— सिमसारमा पानीको मूल सुक्दा त्यसमा आश्रित चराचुरुंगी लगायतको जैविक विविधता हराएर जान्छ । जीवजन्तुले पिउने पानीको अभाव झेल्छन् । यतिखेर पानी अभावकै कारण कतिपय ठाउँमा मानव बस्तीहरू उजाडिन थालिएका छन् त कतिपय स्थानमा मानिसहरूले विकल्पका रूपमा अन्य स्थानबाट पानी लिफ्ट गरेर ल्याउने, टाढाको मुहानबाट पानी ल्याएर आपूर्ति गर्ने गरेकाछन् । ईनारको पानी सुक्नुका साथै खानेपानीका धारामा पानी आउन छाडे पछि महोत्तरीको जलेश्वर नगरपालिकाले ट्याँकरमा खानेपानी बाड्न थालेको छ । पानी अभावको सबैभन्दा बढी बोझ ग्रामीण भेगका महिलाहरू, गरिब तथा विपन्न घरलाई त परेको नै छ तर जनकपुरधामको पिडा पनि कम बिकराल छैन । अधिकाँश २००-२५० फिट सम्मका हातेकलहरु सुक्न थालेका छन् । ४००-४५० फिट सम्मका कलहरुले समेत सुक्ने संकेत दिई सकेका छन् । बर्दिवास, चन्द्रनगर, पथलैया, निजगढ जस्ता तराई मधेशका शहरहरु नजिकका ग्रामीण भेगमा त टाढाटाढाबाट घण्टौं लगाएर पानी बोकेर ल्याउनु परेको बाध्यता छ । पानीको उपलब्धता महँगो सावित भएको छ ।
मूल सुक्नुका कारण
सामान्यतया वर्षातमा परेको पानी जमिनको सतहबाट जमिन मुनि छिर्छ । पानी कति भित्र छिर्ने भन्ने कुरा जमिनको बनोट र माटोको किसिममा भर पर्छ । सतह नजिकको माटोको तह पूरै भिजे पछि पानी अझै भित्र जान्छ र त्यसरी भित्र पसेको पानी जमिन भित्र धाँजा फाटेको, चिरिएको ठाउँ (एक्विफायर वा जलभरा) मा सञ्चित भएर बस्छ । जमिनमुनि रहेका त्यस्ता जलभराहरू जब पानीले भरिन्छन्, पानी माटोको कमजोर सतहबाट वा पृथ्वीको गुरुत्वाकर्षणका कारण तल्ला क्षेत्रहरूबाट निस्कन थाल्छ, जसलाई हामी मूल भन्छौं । त्यसकारण मूल बन्न र नासिन वर्षातको मात्रा, जमिनको बनोट, माटोको प्रकार र सतहमाथिको भूउपयोगले मुख्य भूमिका खेल्छ । साथै मूलमा पानीको मात्रा पनि मूलाधारको चरित्र, जलभरा र वर्षातले निर्धारण गर्छ ।
नेपाल पानी सदुपयोग फाउन्डेसन र इसिमोडको प्रतिवेदनले पानीको मूल सुक्नुमा मूलधार क्षेत्रको विनाश हुनु; परम्परागत पोखरीहरू मासिनु; सिमसार क्षेत्रहरू मासिनु; जथाभावी सडक तथा भौतिक संरचना बनाउनु; जलविद्युत् आयोजनाका सुरुङ, इनार, डिप बोरिङ खन्नुजस्ता मानवीय र बाढीपहिरो, खडेरी, भूकम्पजस्ता प्राकृतिक कारकहरूको भूमिका रहेको उल्लेख गरेको छ । अर्थात्, ती गतिविधिका कारण मूल बन्ने संरचना (जस्तै— जलभरा, मूलाधारको चरित्र) मा हानि पुग्यो र मूल सुक्यो । साथै जलवायु परिवर्तनका कारण फेरिएको वर्षातको समय, परिमाण र आवृत्तिएवं तापमान वृद्घिका कारण पनि पानीका मूलहरू सुकेका हुन् भन्ने अध्ययनहरूको दाबी छ ।
कतिपय ठाउँमा जनसंख्या वृद्घि, पानीको अत्यधिक खपत गर्ने पछिल्लो जीवनशैलीका कारण पनि पानीको अभाव महसुस भएको हुनसक्छ । बढ्दो खपतले भएको कमीलाईमानिसहरूले पानीको प्राकृतिक आपूर्ति नै घटेको हिसाबमा लिएका पनि हुनसक्छन् । नेपाल मै अझ मधेश प्रदेशको मुख्यालय जनकपुरधामको कुरो गर्ने हो भने जनसंख्या वृद्धि दर पनि स्थानिय ठाउँमा पानी अभावको कारणको रुपमा लिन सकिन्छ । सन् १९७१ मा १४२९८ जनसँख्या रहेको जनकपुरको २०२१ को जनसंख्या १९४५५६ पुगेको छ ।
जनकपुरमा खानेपानी उपलब्धताको सवाल
विगतमा जनकपुरमा खानेपानीको मुख्य श्रोत इनार भए पनि हाल हाते पम्प (पाइप) नै हो । जिल्ला खानेपानी संस्थानले पाइप मार्फत धारा प्रदान गरेर पनि पानी सप्लाई गरि रहेको छ त्यो पनि १५ प्रतिशत भन्दा कम घरधुरी मात्र । अहिले वोतल र जारको खानेपानी सर्वत्र उपलब्ध छ । खानेपानीको मुख्य श्रोत भूमिगत जल साविकमा भन्दा अहिले धेरै तल किन गयो? हातेकलमा ४०० फीट भन्दा तल गए पछि मात्र खानेपानी आउछ किन ? नेपाल भरीमा जनकपुरधाममा सवभन्दा वढी पोखरी छ तर भूमिगत जल तल तल किन जादै छ ? जस्ता कारणले यहाँ सर्वसाधारणको लागि खानेपानी महंगो हुदै गैरहेको अवस्था छ ।
जनकपुरको लागि भूमिगत जलको जलभरनको श्रोत कहाँ छ त?
नेपालको चुरे क्षेत्रमा कुल १६४ वटा नदि प्रणालीको सञ्जाल रहेको, १८ वटा पेरिनियल हिम नदि, मध्य पहाडवाट उत्पति हुने ६४ वटा पेरिनियल नदि, तराई मधेश क्षेत्रवाट १४ वटा पेरिनियल नदिहरु वहने गर्दछन तर जनकपुरको लागि भूमिगत जललाई दिगो रुपमा रिचार्ज गर्ने श्रोत वर्षै भरी पानी रहने नदी ( पेरिनियल ) छैन । यस क्षेत्रलाई रिचार्ज गर्ने मुख्य श्रोत सिजनल (वर्षे) नदीहरुमा रातु, औरही (विगही), र जलाध नदीहरु रहेका छन् । यी नदीहरुमा वर्षाको ३-४ महिना मात्र पानी वग्ने गर्दछ र यसलाई रिचार्ज गर्ने मुख्य श्रोत भनेकै भावर क्षेत्र र चुरे क्षेत्र हुन् । सतही पानी नदि, वर्षा, पोखरी, ताल तलैया, नहरहरुवाट प्राप्त हुन्छ । बारामा १२.३५, धनुषामा २५.५५, महोत्तरीमा १४.७५, पर्सामा २०.५५, रौतहटमा ७.६५, सर्लाहीमा १५५, सप्तरीमा १३.४५, र सिरहामा १६.३५ चुरे क्षेत्र रहेको छ । औषतमा मधेश प्रदेशमा १५.९ ५ चुरे क्षेत्र रहेको छ ।
जनकपुरधामको लागी भूमिगत जलको जलभरनको स्थान चुरे र भावर क्षेत्र महेन्द्रनगर सखुवा भन्दा माथि पर्दछ । भावर क्षेत्रमा साविकमा (जनकपुर रेलवे आउनु पूर्व सन् १९२७ भन्दा पहिले वा करीव ९५ वर्ष पहिले) चारकोसे झाडी थियो । अहिले छैन । भुमिगत जलभरण क्षेत्रका तथ्याँक अनुसार धनुषामा भुमिगत जलभरणको अवस्था राम्रो रहेता पनि व्यवस्थित र भरपर्दो पानीको उपलब्धता गराउन सकिएको छैन । जिल्लामा पहिचान भएका कुल १८९१ वटा डिप एक्यूफायर मध्ये सन् २०२० सम्ममा जम्मा १०८ वटा एक्यूफायरवाट पानी उपलब्ध गराउन सकिएको छ ।
जनकपुरको लागि भूमिगत जलको जलभरनको क्षेत्र को अवस्था कस्तो छ?
चुरे क्षेत्रमा रहेको वनको अवस्था दयनीय छ । वर्षा महिनामा पानीको भल संगै माटो, गिट्टी, वालुवा वगेर आउछ यसले पानीको घनत्व वाक्लो हुन्छ र पानी जमीन मुनि जान गाह्रो हुन्छ । चुरे क्षेत्रमा अत्यधिक चरिचरन, वन डढेलो, दाउरा र काठको लागि जथाभावी वनको फडानी र वासोवास भएको अवस्था छ । २०३० देखि पूर्व पश्चिम राजमार्ग वनेपछि भावर र चुरे क्षेत्रमा आवादी ह्वातै वढेको छ । भावर क्षेत्रमा पनि भूमिगत पानीको व्यापक दोहन हुँदै छ । खानेपानी र खेतीपानी गर्न पानीको व्यापक प्रयोग भै रहेको छ । विगत एक दशक देखि नदीवाट ढुगाँ, गिट्टी र वालुवाको उत्खनन् व्यवसायिक रुपमा मसिनवाट व्यापक हुने गरेको छ । यस उत्खनन्मा जमीनमुनीको २०/२५ फीट मुनीको ढुगाँ, गिट्टी र वालुवा निकाल्ने कार्य गरिएको छ । यसवाट सयौ हजारौ वर्ष देखिको पानीको चैनेल (वाटो) लाई डिस्टर्व भएको छ जसले गर्दा पानीको रिचार्जमा नकारात्मक असर परेको छ । एकै खोलामा धेरै स्थानमा क्रसर उधोगहरु संचालनमा रहेको छ ।
चुरे र भावर क्षेत्र नै भूमिगत पानी रिचार्ज क्षेत्र किन ?
चुरे पहाड खस्रो वालुवा, गिट्टी र कमला स्यान्डस्टोन, सिल्टस्टोन, मडस्टोन को समिश्रणले वनेको छ । भावर क्षेत्र चुरे क्षेत्रवाट नदीले वगाएर ल्याएको वालुवा, गिट्टी थुप्रिएर वनेको क्षेत्र हो । तसर्थ सखुुवा महेन्द्रनगर देखि माथि कुनै पनि नदीमा वर्षा महिना वाहेक पानी देखिदैन । सखुुवा महेन्द्रनगर क्षेत्र ट्रान्जीसन जोन हो । यसको दक्षिण खोलामा पानी निस्किएर वर्ष भरी पानी वग्ने गर्दछ । यो प्रक्रिया जलाध, औरही, रातु, चारनाथ खोलामा पनि हेर्न सकिन्छ । ट्रान्जीसन जोन देखि दक्षिण मटिलो माटोले वनेको क्षेत्र रहेको छ जसले जमीन मुनिको पानीलाई वग्न दिदैन र पानी माथि जमीन माथि आउछ । प्राविधिक भाषामा सखुुवा महेन्द्रनगर देखि दक्षिणको भागलाई मात्र हामी तराईमान्न सकिन्छ ।
जनकपुरधाम क्षेत्रको खानेपानी अभावको दिर्घकालिन समाधानको लागि अव के गर्ने ?
(क) अध्ययन अनुसन्धान
अधिकांश अध्ययनका यस्ता निष्कर्षहरू स्थानीय बासिन्दाका अनुभवमा आधारित हुन्, मूलाधार वा जलाधारमै गरिएका वैज्ञानिक परीक्षणका नतिजा भने होइनन् । जनकपुरधाम क्षेत्रका पानीका मूलहरूको बनोट जटिल र भिन्न भएकाले मूल सुक्दै जानुको कारण खोतल्न स्थानीय जलवायु, सतहमा भूउपयोगको अवस्था, भौगर्भिक बनोट, मानवीय गतिविधिको सूक्ष्म र लामो अवलोकन एवं अध्ययन चाहिन्छ जुन अहिलेसम्म भएको छैन ।
(ख) धनुषा एकीकृत जल तथा जलाधार संरक्षण र व्यवस्थापन कार्यक्रम
जनकपुरधाम उपमहानगरपालिकाको लागि वैकल्पिक पानीको श्रोतको व्यवस्था गर्ने र चुरे भावर क्षेत्रको भूमिगत पानीको भण्डारण क्षमता अभिवृद्धि गरी जनकपुरधाम क्षेत्रमा गहिरिदै गएको पानीको समस्या समाधान गर्नको लागी रातु नदी देखि कमला नदीसम्म कम्तीमा १० वर्षको लागि तपशिल बमोजिमको उदेश्य परिपुर्ति गर्न धनुषा एकीकृत जल तथा जलाधार संरक्षण र व्यवस्थापन कार्यक्रम संचालन गर्न आवश्यक देखिन्छ ।
१. धनुषा जिल्लाका चुुरे क्षेत्रको पानीका श्रोतहरु संरक्षण गरी भूमिगत पानी शोषण र भण्डारण क्षमता अभिवृद्धि गर्ने ।
२. धनुषा जिल्लाको रातु, वरहरी, औरही, जलाध, चारनाथ, र कमला नदीहरुको चुरे र भावर क्षेत्रमा प्रसस्त पानी पोखरीहरु निर्माण गरी वर्षाको पानी संकलन गरी सतही र भूमिगत पानीको भण्डारण क्षमता वढाउने ।
३. रातु देखि कमला नदीहरुको भावर क्षेत्रमा अन्तर-नदी सिचाई कुलो वनाई भावर र तराई क्षेत्रमा सिचाई गर्ने र भूमिगत पानीको भण्डारण क्षमता वढाउने ।
४. स्थानीय सरकार र समुदायको सहमतिमा चुरे तथा भावर क्षेत्रमा पानी पोखरी निर्माण भएको स्थानहरुवाट सव-सर्फेस लेभलको पानी हार्भेस्ट गरी जनकपुर सम्म सप्लाईको व्यवस्था गर्ने ।
५. पानी उपयोग गरे वापत जनकपुर उपमहानगर पालिकाले स्थानीय सरकार र समुदायलाई सहमति भए अनुसार वातावरणीय सेवा भुक्तानी वापतको आर्थिक र अन्य सहयोग गर्ने ।
६. चुरे र भावर क्षेत्रमा रहेको वन जंगल, माटो र पानी संरक्षणको प्रदेश र स्थानीय सरकारहरुले नीति र कानूनी संरचना तयार पार्न सहयोग गर्ने ।
७. प्रदेश र स्थानीय सरकारको समन्वयमा धनुषा जिल्लाको नदीहरुवाट नदीजन्य पदार्थ निकाल्ने प्रक्रिया नियमन गर्न भावर क्षेत्रमा सिल्ट ट्रयाप ड्यामको मोडेल वनाई त्यसै ड्यामवाट मात्र वालुवा गिट्टी ठेक्का मार्फत निकाल्ने व्यवस्था गर्न सहयोग गर्ने र नदीहरुवाट नदीजन्य पदार्थ निकाल्ने जथाभावी दोहनलाई नियन्त्रण र रोकथाम गर्ने ।
धनुषा एकीकृत जल तथा जलाधार संरक्षण र व्यवस्थापन कार्यक्रमका क्रियाकलापहरु
- रातु नदीमा मात्रै १०३ वटा खहरे खोलाहरु छन् त्यसमध्ये ५० भन्दा वढी खहरेमा चेकड्याम, तटवन्ध, संरक्षण पोखरीहरु नियन्त्रण र संरक्षण भै सकेको देखिन्छ । रातु नदीको अन्य खहरेहरुमा पनि चेकड्याम, तटवन्ध, संरक्षण पोखरीहरु निर्माण गर्ने । हाई टेन्सन लाईनको पुनी उल्लेख्य मात्रामा जलाधार पोखरीको निर्माण गर्ने ।
- ड्ड यस्तै औरही (विगही) नदी, जलाद नदीहरुको खहरे खोलाहरुमा सयौ खहरे खोल्सीहरु छन् । यी नदीका खहरेहरुमा पनि चेकड्याम, तटवन्ध, वृक्षारोपण वा वनसंरक्षण र पोखरीहरु निर्माण गर्ने ।
- यी नदीहरुको खहरेमा चेकड्याम, तटवन्ध, संरक्षण पोखरीहरु निर्माण गरी चुरेको माटो चुरेमा संरक्षण गर्ने अभियान नै चलाउने ।
- चुरे र भावर क्षेत्रमा सयौको संख्यामा पानी पोखरी निर्माण र संरक्षण गरी वर्षाको पानीको रोकथाम र संरक्षण गर्ने ।
- रातु नदी, औरही (विगही) नदी, जलाद नदी र कमला नदीमा चुरे वा भावर क्षेत्रमा सव-सर्फेस सतहको पानीको श्रोतको अध्ययन गरी पानी पोखरी निर्माण गरी सो पानी जनकपुर ल्याउने संभावनाको अध्ययन गर्ने (जस्तै वर्दिवासको खानेपानीको श्रोत संरक्षणवाट सिक्ने) ।
- सुनकोशी-कमला डाइभरसनको पानी जनकपुरको लागि खानेपानीमा प्रयोग गर्ने संभावनाको खोजी गर्ने ।
- चुरे र भावर क्षेत्रमा रहेको वन जंगल, माटो र पानी संरक्षणको नागरिक अभियान संचालन गर्ने र चुरेको श्रोेतको दोहन प्रभावकारी रुपमा रोकथाम गर्न सहयोग गर्ने ।
- चुरे र भावर क्षेत्रमा रहेको वन जंगल, माटो र पानी संरक्षणको प्रदेश र स्थानीय सरकारहरुले नीति र कानूनी संरचना तयार पार्न सहयोग गर्ने ।
- स्थानीय सरकारकोे समन्वयमा रातु नदी, औरही (विगही) नदी, वरहरी नदी, जलाद नदी, चारनाथ नदी र कमला नदीहरुमा सिल्टेसन ट्रयाप ड्याम वनाई त्यसै ड्यामवाट मात्र वालुवा गिट्टी ठेक्का मार्फत निकाल्ने व्यवस्था गर्न सहयोग प्रदान गर्ने ।
- चुरे र भावर क्षेत्रको निजी जग्गामा पानी पोखरी निर्माण गर्नलाई प्रोत्साहन गर्ने ।
- सिचाई मन्त्रालय र निकायहरुको समन्वयमा वागमती देखि कमला नदीसम्म सिजनल नदीहरुको वर्षाको पानी अन्तर-सिचाइ कुलो वनाई भावर क्षेत्रमा भूमिगत पानी भरनको व्यवस्था गर्ने ।
- यस संरक्षण र व्यवस्थापनवाट धनुषा जिल्लामा नदी किनारका सयौ विघा जमीन उकास हुने अपेक्षा गरिएको छ । यी नदी उकास जग्गामा वृक्षारोपण र अन्य आयमूलक कार्यक्रम संचालन गर्ने ।




