महोत्तरी – मधेश प्रदेशमा पछिल्ला केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ। महोत्तरीको औरही नगरपालिका सहित तराई–मधेशका विभिन्न क्षेत्रमा तापक्रम ३७ देखि ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको हो।चर्को गर्मीका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, किसान, वृद्धवृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। दिउँसोको समयमा अत्यधिक घामका कारण घरबाहिर निस्कन कठिन भएको स्थानीयवासी बताउँछन्।
खेतबारीमा काम गर्नसमेत समस्या भइरहेको छ भने श्रमिकहरू काममा जान हिच्किचाउन थालेका छन्। बढ्दो गर्मीका कारण बजार तथा बैंकिङ क्षेत्रको चहलपहलसमेत घटेको छ। सेवाग्राहीको आवतजावत कम हुँदा बजार र बैंकहरूमा मानिसको उपस्थिति उल्लेखनीय रूपमा घटेको छ। विशेषगरी दिउँसोको समयमा बजार क्षेत्र सुनसानजस्तै देखिन थालेको स्थानीय व्यवसायीहरूको भनाइ छ।



औरही नगरपालिका–२ का किसान दिनेश यादव ले अत्यधिक गर्मी र वर्षाको अभावले खेतीपाती प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार धान रोपाइँको समय नजिकिँदै जाँदा पनि पानी नपर्दा किसानहरू चिन्तित बनेका छन्। उहाँले भन्नुभयो, “अहिलेको चर्को घाम र गर्मीमा खेतमा काम गर्न निकै कठिन भएको छ। मजदुरहरू पनि खेतमा जान मानिरहेका छैनन्। धान रोप्ने समय आइसकेको छ तर पानी परेको छैन।”
किसान यादवका अनुसार खेतमा राखिएको धानको बीउ ब्याड बढ्दो तापक्रमका कारण सुक्न थालेको छ। आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरू लामो समयसम्म वर्षा नहुँदा थप मर्कामा परेका छन्। असार लाग्नै लाग्दा पनि पर्याप्त वर्षा नभएकाले यस वर्ष धान उत्पादनमा कमी आउने चिन्ता किसानहरूमा बढेको छ।
यसैबीच अत्यधिक गर्मीलाई मध्यनजर गर्दै गौशाला नगरपालिका ले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिनका लागि गर्मी बिदा दिएको छ। नगरपालिकाले विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाएको छ।
यस्तै, यसअघि महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालय मा अत्यधिक गर्मीका कारण १० जना विद्यार्थी बेहोस भएका थिए। उक्त घटनापछि अभिभावक तथा सरोकारवालाहरूले विद्यालयमा स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्ने माग गरेका छन्। गर्मीको प्रभाव शैक्षिक क्षेत्रमा मात्र नभई आर्थिक गतिविधिमा समेत देखिन थालेको छ।बजार तथा बैंकिङ क्षेत्रको चहलपहल घट्दै गएको छ। सेवाग्राहीको आवतजावत कम हुँदा बजार र बैंकहरूमा मानिसको उपस्थिति न्यून देखिएको छ।
यसैबीच बढ्दो गर्मीलाई मध्यनजर गर्दै बर्दिबास नगरपालिका ले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि बिदा दिएको छ। नगरपालिकाले विद्यार्थीको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको जनाएको छ। जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले अत्यधिक गर्मीका कारण ‘लु’ (हीट स्ट्रोक) को जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
कार्यालयका अनुसार अत्यधिक गर्मीका कारण शरीरमा पानीको कमी हुने, अत्यधिक थकान महसुस हुने, कमजोरी आउने, तिर्खा लाग्ने, बान्ता हुने, चक्कर लाग्ने तथा बेहोस हुनेजस्ता समस्या देखिन सक्छन्।
स्वास्थ्य चौकी औरहीका डा. रामचन्द्र यादव ले अत्यधिक गर्मीबाट बच्न सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, दिउँसोको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, हलुका तथा सुती कपडा लगाउन र बाहिर निस्कँदा टाउको छोप्न सुझाव दिनुभयो। उहाँले प्रशस्त मात्रामा पानी तथा झोलयुक्त पदार्थ सेवन गर्न पनि आग्रह गर्नुभयो।डा. यादवका अनुसार गर्मी मौसममा शरीरमा पानीको कमी भई डिहाइड्रेसन, एलर्जी तथा अन्य स्वास्थ्य समस्या देखिन सक्छन्। तिर्खा नलागे पनि दैनिक कम्तीमा आठ गिलास पानी पिउनुपर्ने उहाँको सुझाव छ।पानीको सट्टा बियर, कफी, सोडा लगायतका पेय पदार्थको सेवनले शरीरमा पानीको मात्रा झन् घटाउन सक्ने भएकाले त्यस्ता पदार्थको प्रयोग कम गर्नुपर्ने उहाँले बताउनुभयो।
जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरका प्रमुख राजीव झा ले यस वर्ष मनसुनी वर्षा समयमै हुने सम्भावना कम देखिएको बताउनुभयो। मनसुन सुरु हुने समय नजिकिँदै जाँदा पनि मधेश प्रदेशमा उखरमाउलो गर्मी कायम रहेकाले जनजीवन थप प्रभावित बनेको उहाँको भनाइ छ।
अत्यधिक गर्मी, वर्षाको अभाव र बढ्दो ‘लु’को जोखिमका बीच मधेशका किसान, विद्यार्थी तथा सर्वसाधारण थप समस्यामा परेका छन्। समयमै वर्षा नभए कृषि उत्पादनमा समेत प्रतिकूल असर पर्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्।




