महोत्तरी – गौशाला नगरपालिकाले अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सबै विद्यालयमा चार दिनका लागि गर्मी बिदा दिएको छ ।
नगरपालिकाले मिति २०८३ जेठ २१ गतेको निर्णयअनुसार जेठ २२ गते शुक्रबारदेखि जेठ २५ गते सोमबारसम्म नगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयहरूमा पठनपाठन बन्द रहने जनाएको छ ।



पछिल्लो केही दिनदेखि लगातार बढिरहेको तापक्रम र तातो हावाका कारण नियमित पठनपाठन सञ्चालनमा कठिनाइ उत्पन्न भएको र विद्यार्थीहरूको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पर्न सक्ने अवस्था सिर्जना भएकाले उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर अधिकारीद्वारा जारी सूचनामा विद्यार्थीको स्वास्थ्य, सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै बिदा दिइएको उल्लेख गरिएको छ । यससँगै जिल्लामा हालसम्म दुई पालिकाले गर्मी बिदा दिएका छन् ।
यसअघि बर्दिबास नगरपालिकाले पनि अत्यधिक गर्मीका कारण दुई दिनका लागि विद्यालय बिदा दिएको थियो ।





