महोत्तरी – महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सांसद लक्ष्मी महतो कोईरीले जिल्लाको विभिन्न नगरपालिकामा शुद्ध र स्थायी खानेपानी सेवा सुनिश्चित गर्न संघीय सरकारसँग बोरिङ प्रणाली स्थापनाका लागि बजेट माग गरेका छन्। गौशाला नगरपालिका वडा नं. १ देखि १२ सम्म, बर्दिवास नगरपालिका वडा नं. १ देखि १४ सम्म र भंगाहा नगरपालिका वडा नं. ३, ४, ५ तथा ९ सम्म खानेपानीको समस्या दीर्घकालदेखि रहँदै आएको छ।
सोही समस्यालाई सम्बोधन गर्दै सांसद कोईरीले संघीय सरकारअन्तर्गत खानेपानी मन्त्री प्रदीप यादव समक्ष आवश्यक ४ इञ्च र ६ इञ्च व्यासका बोरिङ निर्माण गर्न प्रस्ताव पेश गरेका हुन्। सांसद कोईरीका अनुसार स्थानीयस्तरमा विगत धेरै वर्षदेखि खानेपानीको अभाव झेल्दै आएका समुदायलाई लक्षित गर्दै स्वच्छ र दिगो पानी आपूर्तिको उपायका रूपमा बोरिङ प्रणालीलाई अगाडि सारिएको हो। “जनताले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका छन्, अब समाधानको समय आएको छ।



यो समस्या समाधान गर्न संघीय सरकारको सहयोग अपरिहार्य छ,” उनले बताए। सांसद कोईरीको सचिवालयका अनुसार मन्त्रालयस्तरीय छलफलमा सो प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ र आवश्यक प्रक्रिया अगाडि बढाउने आश्वासन दिइएको छ।




