महोत्तरी - समावेशी अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले “समावेशी अभ्यासका लागि सामूहिक प्रयास” अभियान अन्तर्गत महोत्तरी जिल्लाका दुई पालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर र ट्राइसाईकल वितरण गरिएको छ।

CBM Global को आर्थिक सहयोग तथा रतौली युवा क्लबको संयोजनमा महोत्तरी गाउँपालिका र बलवा नगरपालिकामा आयोजित कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री हस्तान्तरण गरिएको हो।

बलवा नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख राम विजय महतो प्रमुख अतिथि थिए भने वडा नम्बर ६ का अध्यक्ष बैद्यनाथ झा विशिष्ट अतिथि रहेका थिए। त्यसैगरी महोत्तरी गाउँपालिकाको कार्यक्रममा पालिका अध्यक्ष दिलीप कुमार पाण्डे प्रमुख अतिथि थिए। दुवै कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रम व्यवस्थापक रुपेश ठाकुरका अनुसार, बलवा नगरपालिकामा ३ जना अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर प्रदान गरिएको छ। त्यसैगरी, महोत्तरी गाउँपालिकामा ३ जना व्यक्तिलाई व्हीलचेयर र १ जनालाई ट्राइसाईकल उपलब्ध गराइएको छ। यसरी कुल ७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको हो।

यस अभियानबाट लाभान्वित व्यक्तिहरूको दैनिक जीवनयापनमा सहजता आउने र उनीहरूलाई थप आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ।




