गोविन्द महतो,जनकपुरधाम – कुनै बेला बन्दुक बोकेका पूर्वमाओवादीका कमाण्डर गौशाला ८ बेलगाछीका काशी महतो (करण) अहिले व्यावसायिक तरकारी खेतीमा लागेका छन्। हातमा अहिले बिहान–बेलुकै कुटो, कोदालो देखिन्छ। ५१ वर्षीय महतो गएको १० वर्षदेखि व्यावसायिक कृषि पेसामा रमाएका छन्। टीठलाग्दो उमेरमै राजनीति नै सबैथोक हो भनेर माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका उनी अहिले आयआर्जन महत्वपूर्ण हो भन्ने निष्कर्षमा पुगेका छन्। ‘उतिबेला बन्दुक बोकेर परिवर्तनका लागि हिँडियो,’ उनी भन्छन्, ‘अब कुटो–कोदालो बोकेर आर्थिक क्रान्तिमा जुटेको छु।’
राजनीति मात्रै गर्दाध थुप्रै आर्थिक समस्या भोग्नुपरेको महतो सुनाउँछन्। ‘माओवादी सशस्त्र संघर्षका क्रममा त सबै सँगसँगै थियौं। त्यतिबेला अभाव कमै महसुस हुन्थ्यो,’ उनी स्मरण गर्छन्, ‘शान्ति सम्झौतापछि भने पार्टीका साथीहरू आ–आफ्नै घर फर्किए। जीवन फेरि एक्लै सुरु भयो। त्यसपछि आर्थिक अभाव हुन थाल्यो। आफ्नो र परिवारको खर्च धान्न नसकिने भयो।’ आर्थिक अभाव भएपछि मात्रै आफूले आयआर्जन गर्नुपर्दो रहेछ, भन्ने अभाव खड्किन थालेको उनी बताउँछन्। ‘योजना दीर्घकालीन राजनीति नै गर्ने भएकाले जागिर खोजेर कतै जान पनि मन लागेन। अरू कुनै कमाउने माध्यम पनि थिएन। त्यसैले माओवादी जनयुद्धमा जानुअघि गरेको पेशा खेती गृहस्थीका साथसाथै व्यावसायिक खेती गर्न थालेको हुँ,’ उनी भन्छन्, ‘महतोको पुख्र्यौली पेसा पनि खेती किसानी नै हो।’



गौशाला गरपालिका–८ बेलगाछी गाउँमा उनले गरेको तरकारी खेती तथा बेर्ना उत्पादनको काम देखेपछि सबै दंग पर्छन्। माटोमै दिनरात खटेर बिताउँदै आएका महतोले वर्षौंदेखि खाली र उजाड जमिन अहिले हरियाली बनाएका छन्। जिल्लामै पहिलोपटक उनले भिœयाएको तरकारी तथा फलफूलको बेर्ना उत्पादनले छोटो समयमै उनलाई सफल कृषकका रूपमा स्थापित गरेको छ। आम्दानीको स्रोत जुटाउने बाटो बन्द गरेर गरिने राजनीति विशुद्ध हुन नसक्ने उनको बुझाइ छ। ‘हरेक मान्छेलाई पैसा चाहिन्छ। पैसा कमाउने बाटो बनाउनुपर्छ। आर्थिक स्रोत जुटाउनुपर्छ,’ उनी भन्छन्, ‘राजनीति विशुद्ध समाज सेवा हो, जहाँ आम्दानी हुन सक्दैन। आम्दानीको स्रोत नभएको राजनीतिकर्मीलाई गलत तवरबाट कमाउनुपर्ने बाध्यता आइलाग्छ। त्यसैले मैले राजनीतिमा सेवा र कृषिमा पैसा कमाउन काम गरिरहेको छु।’
महतोको तरकारी खेती तथा बीउबीजन र बेर्ना उत्पादनका लागि बिघौंबिघा आफ्नै खेती तथा जमिन भाडामा लिएर खेती गरेका छन्। महतोको संघर्ष र सोच एउटै छ– स्वरोजगार बन्नुपर्छ। करण आफ्नो काम र त्यसबाट प्राप्त प्रतिफल प्रति सन्तुष्ट छन्। ‘एकदम सन्तुष्ट छु। सानै उमेर देखिको मेहनत र अहिले आफैंं व्यवसाय थाल्दा महिनाको ३ लाखसम्म आम्दानी गरेको छु, र त्यसको आम्दानीबाट अत्यधिक सन्तुष्ट छु।’
महतो भन्छन्, ‘राजनीतिमार्फत समाज सेवा गर्ने मेरो उद्देश्य हो। राजनीति शुद्ध हुनुपर्छ भन्ने मान्यता राख्छु। बदमासी गर्न सकिनँ। नेतालाई रोजगारीका लागि गुहार्न पनि मन मानेन्। अनि तरकारी खेती सुरु गरेको हुँ। कमाइबाट पूर्ण सन्तुष्ट छु।’ महतोले सफल कृषकका रूपमा व्यवसाय सुरु गरेकोले बाँकी जीवन कृषिसँगै राजनीति कर्ममा नै बिताउने निधो गरेको बताउँछन्। उनले भने, ‘राजनीति छोडेको होइन, छोड्दिनँ पनि तर राजनीतिमा फोहोरी खेल जस्तो भयो। षडयन्त्र, जालझेल बढी हुने र महँगो हुँदै गएको छ। पछिल्लो समय त अझ राजनीतिक अपराध हुन थालेको छ।’
महतो भन्छन्, ‘मलाई गर्व छ, कि मैले खेतमा काम गरेर आफ्ना छोराछोरीलाई उच्च शिक्षा दिन सकें। मेरो संघर्षले मेरो परिवार र बच्चाहरूको भविष्य उज्जवल तर्फ छ। यो एउटा ठूलो उपलब्धि हो।’ उनका चार सन्तानमध्ये दुई दुईजना उच्च शिक्षाका डिग्री हासिल गरिसकेका छन् भने एक छोराले मेडिकल र अर्को बिजनेस एड्मिनिष्ट्रेसन (बीबीए) मा अध्ययनरत छन्।
नेपालमा कृषि क्षेत्रलाई उद्योग र पर्यटनसँग जोड्न ठूला कृषि फर्महरू सञ्चालन गर्नुपर्ने महतोको सुझाव छ। उनी भन्छन, ‘कृषि आफैंमा उद्योगसँग जोडिएकाले बाँझो जमिनमा नयाँ–नयाँ खेती गर्नसके उत्पादकत्व बढ्ने मात्र नभएर पर्यटकीय गन्तव्यको पनि विकास हुनेछ।’ धितो राख्ने जमिन नहुँदा ऋण नपाएको बताउने महतो नेपालमा खेती एवं कृषिकर्म गर्ने किसानलाई सरकारले बिनाधितो सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने माग गरे।-अन्नपूर्ण पोस्ट




