राैतहट – रौतहटमा निकै चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा पक्राउ परिएका छन् ।
प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि कीर्तिपुर स्थित बर्न सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिएका छन्।



रौतहटको माधव नारायण नगरपालिका वडा नं–६ माधोपुरकी रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण पासवानले हत्या गरेको स्वीकार गरेको छ। आफ्नो शरीरमा आफै आगो लगाउनु पहिला करिब ९ मिनेटको भिडियो सन्देशमा पासवानले रुबीको हत्या गरेको स्वीकार गरेको हो। रुबी कि आमानै प्रमुख दोषी रहेको भन्दै भिडियो बनाएका हुन्।
रुबी साह विगत केही समयदेखि गौरमा आफ्नी आमासँग बस्दै आएकी थिइन्। गत आइतबार सुटकेसभित्र उनको शव फेला परेको थियो। त्यसपछि सो घटनाको प्रहरीले अनुसन्धान गर्दा अनुसन्धानको सुई लक्ष्मण पासवानतिर गएको थियो।
घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले भिडियो सन्देशमा रुबीकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको उनले स्वीकारेका छन्। उनले भिडियो सन्देशमा आफूले कसरी हत्या गरे भन्ने कुरा नखुलाए पनि आफूहरूको प्रेमका कारण यो घटना भएको उनको जिकिर छ। रुबीसँग कक्षा १० मा पढ्दा आफ्नो प्रेम भएको र जिल्ला अदालत सर्लाही र भारतको सीतामढी स्थित अदालतमा आफूहरूको प्रेम विवाह भएको भएपनि रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानले बताएका छन्।
उनले जारी गरेको भिडियो सन्देशमा राजन ,राजु ,राजा र रुबीकी आमा यो घटनाका मुख्य दोषी रहेको दाबी गरेका छन्। उनकी आमाले पैसाको प्रलोभनमा परेर आफ्नी छोरीलाई तीनैजना केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोप समेत लगाएका छन्।
उनको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। लक्ष्मणसँग भागेर विवाह गरेपछि रुबीको परिवारले उनको भारतीय केटासँग विवाह गराइदिएका थिए। भारतको मजफरपुरका स्थानीय निवासी शिवसागर साहसँग रुबीको विवाह भएको थियो। हत्या भएको राति आफू दुवैजना मर्ने निधो गरेको लक्ष्मणले जारी गरेको भिडियोमा उल्लेख रहेको छ ।
उनले आफूले कसरी रुबीको हत्या गरे भन्ने कुरा नखुलाए पनि अब आफू पनि बाँच्न नचाहेको र अबको केही बेरमै आफूले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्न लागेको जनाएका थिए। आफू गरिब रहेको र रुबीकी आमाले आफूसँग रुबीलाई बस्न नदिएको र अरु हुने खाने धनीमनीसँग बिहे गराइदिएको उनको भिडियोमा उल्लेख छ।
पासवालले रुबीको फोटो र नामको ट्याटु समेत बनाएको देखिन्छ।
प्रहरीका अनुसार माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचामा पासवान आफैंले डिजेल खन्याई शरीरमा आगो लगाएका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उद्धार गरी तुरुन्तै अस्पताल पु¥याएको थियो। प्रहरी स्रोतका अनुसार उनको टाउकोसहित शरीरको धेरै भाग जलेको छ र बोल्नसमेत गाह्रो भएको छ ।




