महोत्तरी - जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवले भूमि विधेयक विरुद्ध घरदैलो अभियानलाई तीव्र पारेका छन्। बुधबार महोत्तरीको सोनमा गाउँपालिका–१ र २ का विभिन्न बस्तीमा पुगेर उनले सरकारको कदम राष्ट्रिय हित विपरीत भएको आरोप लगाउँदै जनतालाई एकजुट हुन आग्रह गरेका हुन्। घरदैलो कार्यक्रममा बोल्दै डा. यादवले भने, “भूमि विधेयक राष्ट्रिय हित विपरीत छ।
यसले वन–जंगलको विनाश गर्ने मात्र होइन, जैविक विविधता खतरामा पार्ने र तराई–मधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने जोखिम बढाउनेछ। त्यसैले जनताले संगठित भएर प्रतिकार गर्नु अपरिहार्य छ।” ‘भूमि र वन बचाऔं, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऔं’ भन्ने नारासहित जसपा नेपालले सञ्चालन गरेको विरोध अभियान अन्तर्गत भदौ ९ देखि १५ गतेसम्म देशव्यापी प्रदर्शन भइरहेका छन्।
भूमि विधेयकविरुद्ध देशव्यापी आन्दोलन
जसपाले भदौ ९ गतेबाट सुरु गरेको आन्दोलन भदौ १५ गतेसम्म देशका विभिन्न शहरमा विरोध प्रदर्शनमार्फत जारी रहने जनाएको छ। पार्टीले उक्त विधेयक जनताका हितमा नभई भू–माफिया र जग्गा दलालको पक्षमा बनेको ठहर गरेको छ। यसअघि पार्टीको केन्द्रीय सचिवालय बैठकले “वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न, जैविक विविधता तथा वातावरण संरक्षण गर्न, तराई–मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन र जल–जंगल–भूमिको रक्षा गर्न” देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।




