महोत्तरी – महोत्तरीमा जेनजेड (Gen Z) पुस्ताले भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन्। गौशाला नगरपालिका र बर्दिवास नगरपालिकामा एकैदिन प्रदर्शन गरी नाराबाजी गरिएको हो।
सोमबार गौशाला नगरपालिकाको वडा नम्बर ४ स्थित कवर्ड हल अगाडिबाट सुरु गरिएको जुलुस गौशाला बजार परिक्रमा गरी सम्पन्न गरिएको थियो।




त्यस्तै, बर्दिवास नगरपालिकामा बर्दिवास चोकसम्म जुलुस निकालेर चौक वरिपरि परिक्रमा गरिएको थियो।प्रदर्शनकारीहरूले सरकार भ्रष्टाचारमा डुबेको, युवापुस्ताले परिवर्तन चाहेको, सामाजिक सञ्जाल बन्द गरेर जनताको आवाज दबाउन खोजिएकोलगायतका नारा लगाएका थिए।

विद्यार्थीहरू विशेष संख्यामा उपस्थित रहेको उक्त प्रदर्शनमा ‘Wake Up Youth’, ‘Tax is for Nation, Not for Your Vacation’, ‘बाउले गर्छ चोरी, विदेशमा घुम्छे छोरी’, ‘जनताको कर, नेताको घर’ लगायतका प्लेकार्ड बोकेर सरकारको आलोचना गरेका थिए।
शान्तिपूर्ण रूपमा सम्पन्न भएको यो प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन्।







