महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिकामा गएराति भिषण डकैती भएको छ।मटिहानी नगरपालिका वडा नं. ५ बिसनपुरमा गए राति करिब १२ बजे डकैती भएको हाे।

जिल्ला प्रहरी कार्यालय महाेत्तरीकाे अनुसार मङ्गल महरा र बहादुर महराको घरमा करिब ३–५ जनाको समूहमा आएका डाकाहरूले धारिलो हातहतियार प्रहार गर्दै घरका सदस्यहरूलाई घाइते बनाएर लाखौँ बराबरका गरगहना, सामग्री र नगद रकम लुटपाट गरेर लगेका छन्।




घटनामा मङ्गल महाराकी पत्नी ५० वर्षीया सैलो देवी, छोरी मनिषा कुमारी र छोरा संजीव महरा गम्भीर घाइते भएका छन्।
डाकाहरूको समूहले धारिलो हातहतियार प्रयोग गरी उनीहरूलाई प्रहार गरेको र अहिले घाइतेहरूको उपचार जनकपुरमा भइरहेको प्रहरीले जनाएको छ।

घटना बारे मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ। उहाँलाई घटनाबारे जानकारी वडा अध्यक्ष मिश्री नायकले गराउनुभएको थियो।

नगर प्रमुख मण्डलले यस किसिमका आपराधिक क्रियाकलापले समाजमा आतंक सिर्जना गरेको भन्दै अपराधीहरूलाई छिट्टै पक्राउ गरि कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।

स्थानीय बासिन्दाहरूले राति मध्यरातमा भएको उक्त घटनापछि असुरक्षाको भावना बढेको गुनासो गरेका छन्।घटनापछि प्रहरीले अनुसन्धान तीव्र पारेको र दोषीलाई छिट्टै पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।









