धनुषा । जनकपुरधाम स्थित एमजी स्टील कारखानामा भिषण आगलागी भएको छ। आगलागिबाट कारखानाको करिब ४ करोडको मालसामान जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जनकपुरधामका व्यापारी कैलाश जैन तथा पारस जैन संचालक रहेको जनकपुरधामको वडा नंं १९ वेङ्गाशिवपुरमा स्थित एमजी स्टील कारखानामा काठ तथा फलामको फर्निचर बनाउने तयारी अवस्थामा रहेका सामानहरू जलेर नष्ट भएको छ ।
कारखानामा वेल्डिङ्ग गरिरहेको बेलामा त्यसबाट उडेको झिल्कोले आगो लागेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष अम्बु साहले जानकारी दिनुभयो ।
आज दिउँसो कारखानामा लागेको आगो नेपाल प्रहरी तथा धनुषा तथा महोत्तरीका विभिन्न पालिकाहरूमा रहेको ८ वटा वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागि भइरहेको बखत वर्षा हुन थालेकोले आगो नियन्त्रणमा ठुलो मद्दत पुगेका थियो ।




