महोत्तरी – विभिन्न हाटबजारमा यस वर्षको दशैंको लागि खसी, बोका र राँगाको बिक्री वितरण सुरु भएको छ। महोत्तरीको प्रमुख ब्यापारी केन्द्र गौशाला नगरपालिका को गौशाला बजार दशैं लाग्ने वित्तिकै खसी–बोका–राँगा किन्ने–बेच्नेको भिडले चहलपहल भएको छ। महोत्तरीभरिका व्यापारी र किसानहरूले व्यावसायिक रूपमा पालेका खसी–बोका–राँगा यहाँ बिक्री वितरण गर्दै दशैं खर्च जुटाउन थालेका छन्।
जिल्लाको एकमात्र प्रमुख बजार भएकाले गौशाला बजारमा खसी–बोका–राँगाको मूल्य प्रति गोटा दश हजारदेखि ३० हजारसम्म रहेको किसानहरूले जानकारी दिएका छन्। गौशाला बजारबाट बिक्री वितरण भएको खसी–बोका–राँगाहरू ठूला व्यापारीहरूले काठमाडौं, पोखरा, बनेपा, धुलिखेल लगायतका शहर र जिल्लामा निर्यात गर्ने गर्दछन्। यस वर्ष पनि जिल्लाका गौशाला, बर्दिवास, औरही, रामगोपालपुर, सम्सि, सोनमा, मनरासिसवा, बल्बा लगायतका अधिकांश गाउँपालिका र नगरपालिकाका किसानहरूले व्यावसायिक रूपमा पालन गरेको खसी–बोकालाई दशैं खर्च जुटाउन बजारमा ल्याएका छन्।

गौशाला नगरपालिका–११ बस्ने किसान दिनेश्वर महतो भन्छन्, “दशैंको लागि खसी–बोका पालन व्यवसायिक दृष्टिले फाइदाजनक छ। हाम्रो गाउँका किसानहरूले पनि यस अवसरलाई सदुपयोग गर्दै आम्दानी जुटाइरहेका छन्।” दशैं हिन्दू धर्मावलम्बीहरूको महान पर्व हो, जसमा परिवार र समुदायमा सुख, शान्ति र समृद्धि कामना गरिन्छ।
यो अवसरमा वली चढाउने र पूजापाठ गर्ने परम्परा रहिआएको छ, जसका लागि खसी, बोका र राँगा अत्यधिक मागमा रहन्छ। महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशाला बजार यस वर्ष पनि दशैंमा चहलपहलको केन्द्र बनेको छ, जहाँ किसान, व्यापारी र उपभोक्ताबीच सक्रीय लेनदेन भइरहेको छ।


