महोत्तरी - होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले विश्व पर्यटन दिवसको अवसरमा जिल्लाका ६ वटा महत्वपूर्ण पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ ।
बिहीबार बर्दिवासको कालापानीमा भएको पत्रकार सम्मेलनमा जिल्लालाई नै समृद्ध बनाउन उक्त ठाँउहरु पर्याप्त भएको भन्दै उक्त गन्तव्यहरु सार्वजनिक गरेको हो ।
संघले जलेश्वर महादेव मन्दिर, मध्यपाषण युगको मानव सभ्यता, नेपालको बाबाधाम भनेर चिनिने टुटेश्वरनाथ, जंग वहादुरले सेतो बाघ देखेको भनिएको पंचधुरा मन्दिर, चुरेको फेदीमा रहेको बहुचर्चित कालापानी पार्क, धार्मिक सहिष्णुताको प्रतिक मानिने परौल थान, मटिहानीको शताव्दीऔ पुरानो नेपालको नै जेठो गुरुकुललाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा रहेको संघले जनाएको छ ।
धार्मिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक दृष्टिकोणले महोत्तरी मधेशको नै महत्वपूर्ण भएव्को बताउँदै ‘घुमौ मधेस, बुझौँ मधेस’अभियानका क्रममा प्रदेश सरकारलाई उक्त ठाँउ सुचिकृत गर्न सुझाएको होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले बताए ।
‘मुलुकको नै महत्वपूर्ण आर्थिक मेरुदण्ड मानिने पर्यटन क्षेत्रमा पर्याप्त कामहरु हुन नसक्दा ओझेलमा पर्दै गएका हामीसँग यथार्थ छ’, अध्यक्ष गौतमले भने, ‘हामी नै उठ्नुपर्छ र विकासको लागि सरकारलाई घचेट्नु पर्छ ।’
विश्व पर्यटन दिवसको अवसरमा महोत्तरीका पर्यटनस्तरका होटलहरुले आन्तरिक र वाहय पर्यटकहरुको लागि खाना र बस्नको लागि छुटको समेत व्यवस्था गरेका छन् ।
जिल्ला घुम्न आएका पर्यटकहरुलाई सार्वजनिक गरिएका गन्तव्यहरुको विचरण समेत गराउने होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जानकारी दिए ।
जिल्लाका होटल व्यवसायीहरु सीमा–नाकामा गएर पर्यटकहरुलाई स्वागत गर्ने, सरसफाई गर्ने र प्रचारप्रसार गर्ने कार्यक्रम रहेको उनीहरुको भनाई छ ।




