महोत्तरी - हालैको अविरल वर्षा र बाढीका कारण बर्दिबास नगरक्षेत्रका विभिन्न बस्तीहरू प्रभावित भएपछि बर्दिबास नगरपालिकाले तत्काल राहत वितरण अभियान सञ्चालन गरेको छ। नगरपालिकाको आयोजनामा , Save the Children ,सामुदायिक बिकास तथा पैरवी मंच नेपाल ,CRS , नेपाल रेडक्रस सोसाइटी उपशाखा बर्दिबास ,रोटरी क्लब अफ बर्दिबास ,रोट्र्याक्ट क्लब अफ बर्दिबासको संयुक्त सहयोगमा ५० बाढी–पीडित परिवारसम्म राहत सामग्री बितरण गरिएको हो ।

यस अभियान अन्तर्गत खाद्यान्न, सरसफाइ सामग्री, त्रिपाल,, बालबालिका Dignity Kit, खाना पकाउने भाँडाकुँडा, कपडा तथा आवश्यक घरेलु सामग्रीहरू वितरण गरिएका छन्। राहत वितरण कार्यक्रममा नगर प्रमुख,उपप्रमुख ,प्रतिनिधि, नगर प्रहरी, वडा जनप्रतिनिधि, स्थानीय समाजसेवी ,संचारकर्मी र सामाजिक संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
राहत वितरणका क्रममा नगरका प्रतिनिधिहरूले विपद्को समयमा नागरिकको दुःख–सुखमा साथ दिने प्रतिबद्धता जनाउँदै भने,“बिपद्ले परिक्षा लिन्छ, तर मानवीयता नै यसको उत्तर हो। हामी सबै मिलेर यो कठिनाइ पार गर्नेछौं।

स्थानीयवासीहरूले राहत पाएपछि खुसी व्यक्त गर्दै नगरपालिकाको पहल र सहयोगी संस्थाहरूको सक्रियताको प्रशंसा गरेका छन्। एक बाढी–पीडित महिलाले भनिन्,“यो सहयोगले केवल सामग्री होइन, हाम्रा मनमा भरोसाको उज्यालो दिएको छ।”

राहत सामग्री वितरणसँगै प्रभावित क्षेत्रहरूको तथ्याङ्क संकलन, पुनःस्थापना योजना र दीर्घकालीन व्यवस्थापनका लागि पनि छलफल गरिएको छ। नगर प्रशासनका अनुसार राहत वितरण एकद्वार प्रणालीमार्फत पारदर्शी रूपमा गरिएको हो, जसले सहयोग लक्षित परिवारसम्म प्रभावकारी रूपमा पुर्याएको छ।
यो अभियानले बर्दिबास नगरपालिकाको सामाजिक जिम्मेवारी र मानवीय भावना झल्काएको छ।
नगरका जनप्रतिनिधिहरूले आगामी दिनमा पनि स्थानीय सरकार नागरिकको साथमा रहने आश्वासन दिएका छन्।





