महोत्तरी(औरही) - तिहार र छठ पर्व नजिकिँदै गर्दा महोत्तरीको औरही नगरपालिकाका कुमाल समुदाय माटोका दियो र भाँडाकुडा बनाउनमा व्यस्त छन्। यद्यपि, झिलिमिली बत्ती, प्लास्टिक र धातुका भाँडाकुडाको बढ्दो प्रयोगका कारण पुस्तौंदेखि चलिआएको कुमाल समुदायको परम्परागत पेशा भने संकटमा परेको छ।
औरही नगरपालिका–४ कविलासाका कुमाल चन्देश्वर पण्डितका अनुसार विगतमा दिपावली र छठ पर्वका अवसरमा लाखौँ माटाका दियो, ढकनी, खपरी, घैंटो, मटिया, कुसिया, कुरबार लगायतका सामग्री बिक्री हुने गर्दथे। तर अहिले बजारमा आधुनिक वस्तुहरुको प्रवेशसँगै माटाका भाँडाका बिक्रीमा तीव्र गिरावट आएको छ।

रामनारायण पण्डितका भनाइअनुसार पहिले माटोका भाँडालाई चोखो र पवित्र मानिने भएकाले हरेक घरमा प्रयोग गरिन्थ्यो, तर अहिले प्लास्टिक र धातुका भाँडाले त्यसको स्थान लिँदै गएको छ। उनका अनुसार माटाका सामग्री बिक्री नभएपछि नयाँ पुस्ता यस पेशातर्फ आकर्षित हुन छोडेका छन्।
पहिले जिल्लाभरका हाटबजारमा माटाका भाँडा बिक्री हुने गरे पनि अहिले नगण्य मात्रामा मात्रै बिक्री हुने गरेको बिकी पण्डितले बताए। एक समय महोत्तरीका माटाका भाँडाकुडा काठमाडौं, पोखरा, हेटौंडा, जनकपुर लगायतका सहर र भारतका मधुबनी, दरभङ्गा, सितामढी, पटना सम्म निर्यात हुने गर्थे।

पर्व नजिकिँदा व्यस्तता
तिहार र छठ पर्वलाई लक्षित गरी औरही नगरपालिका–४ कविलासाका चन्देश्वर पण्डित अहिले दियो, ढकनी, खपरी र हाँथी बनाउने काममा केन्द्रित छन्। उनका अनुसार दिपावलीमा हरेक घरमा माटोको दियो बाल्ने परम्परा रही आएकोले दियोको माग सर्वाधिक हुन्छ।
“अहिले हरेक दिन बिहानदेखि बेलुकासम्म माटाका सामग्री बनाउनमै व्यस्त छु,” उनले भने, “यसपालि गत वर्षभन्दा बढी बिक्री गर्ने लक्ष्य राखेको छु।” उनका अनुसार यस वर्ष ७० हजारदेखि १ लाख रुपैयाँ बराबरका माटाका सामान बिक्री गर्ने लक्ष्य लिइएको छ।

चन्देश्वरका छोरा अविनाश पण्डितले समेत बुवाको काममा सहयोग गरिरहेका छन्। दिल्लीमा सिलाई पेशा गर्ने अविनाश अहिले चाडबाडमा घर फर्किएर माटाका भाँडाकुडा बनाउन सिकिरहेका छन्। “बुवाको काममा सहयोग गर्दैछु, किनकि अहिले दियो बनाउने चटारो छ,” उनले भने।
माटो अभाव र लागत वृद्धि
पहिले गाउँमै सजिलै पाइने पहेँलो चिप्लो माटो अहिले दुर्लभ बनेको छ। पण्डितका अनुसार अहिले उक्त माटो किन्नुपर्ने बाध्यता छ। “पहिले गाउँकै खेतबाट माटो लिने गर्थ्यौं, अहिले ट्याक्टरमा टाढाबाट ल्याउनुपर्छ,” उनले भने।

उनका अनुसार तीन ट्र्याक्टर माटो ल्याउन १५ हजार रुपैयाँ खर्च भएको छ। बढ्दो लागत र घट्दो बिक्रीले गर्दा परम्परागत पेशा टिकाउन कठिन भएको उनको भनाइ छ।
मेसिन वितरणपछि सहजता
कुमाल समुदायको परम्परागत पेशाको संरक्षण र आधुनिकरणका लागि औरही नगरपालिकाले हालै माटाका भाँडा बनाउने अत्याधुनिक मेसिन वितरण गरेको छ। नगर प्रमुख प्रदीपकुमार खड्काले एक कार्यक्रममार्फत २५ जनालाई मेसिन हस्तान्तरण गरेका थिए।
नगरपालिकाले करिब आठ लाख रुपैयाँ खर्चमा भारतबाट खरिद गरिएका ती मेसिनमार्फत विभिन्न प्रकारका माटोका भाँडा बनाउन सकिने जनाएको छ।

नगर प्रमुख खड्काले भने, “कुमाल समुदायलाई आत्मनिर्भर र समयसापेक्ष बनाउनका लागि मेसिन वितरण गरिएको हो। यसले समय बचत र आम्दानी दुवैमा सहयोग पुग्नेछ।”
मेसिन पाएपछि कुमाल समुदायका सदस्यहरू खुसी भएका छन्। चन्देश्वर पण्डितले भने, “पहिले चर्खा चलाएर बनाउँथ्यौं, अब मेसिनले सजिलो भएको छ।” बाँकी लाभग्राहीलाई पनि यसै वर्षभित्र मेसिन वितरण गरिने नगरपालिकाको योजना छ।
संस्कृति र जीविकाको जोड
आधुनिकताको प्रभावले माटाका भाँडाकुडाको प्रयोग घटे पनि संस्कृतिप्रेमी र बुढापाकाले अझै पनि माटोका सामग्रीलाई प्राथमिकता दिने गरेका छन्। औरही नगरपालिका– २ का समाजसेवी दरेश यादवले भने, “बुढापाकाले जसोतसो माटाकै भाँडाकुडा बनाएर जीविका चलाइरहेका छन्। परम्परा मेटिन नदिनै यस्तो पेशा जीवित रहनु जरुरी छ।”






























