सन्तोष सिंह,महोत्तरी - माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले एकता र सहमतिबाट राष्ट्रको अगाडि उत्पन्न संकट समाधान खोज्न आफू जस्तो सुकै त्याग, तपस्या र बलिदान गर्न तयार रहेको बताएका छन् ।
'देश यति ठूलो अप्ठ्यारो र संकटको स्थितिमा पहिला कहिले थिएन,' उनले भने,‘पटकपटक भएको आन्दोलनमा पनि यति ठूलो विध्वंस कहिल्यै भएको थिएन । सिंहदरबार, सर्वोच्च अदालत खरानी बनाइएको थिएन । धरोहरहरु जलेका थिएनन् ।’ पहिलो पटक भएको यति ठूलो विध्वंस देख्नु परेकोले संकटको समाधान खोज्न आफू जस्तोसुकै त्याग, तपस्या र बलिदान गर्न तयार रहेको दाहालले बताए ।
महोत्तरीको रामगोपालपुरमा बुधबार पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै दाहालले कुनै हिचकिचाहट र दुविधा नराखी सम्पूर्ण राष्ट्र एकजुट भएर घोषित मितिमा नै निर्वाचन गरी नयाँ प्रतिनिधिसभा हुँदै जेन-जी युवाहरु र आमजनताको असन्तुष्टि सम्बोधन हुने गरी संविधान संशोधन गर्नु पर्ने माओवादीले अपिल गरेको बताए ।
'मैले मधेशी जनतालाई भरोसा गरेर, मधेशी जनतालाई विश्वास गरेर सहयोगका लागि अपिल गर्न मधेश आउने गरेको छु,' उनले भने,‘माओवादी केन्द्र विभाजित भएको बेला मधेश प्रदेशबाट निर्वाचित भएर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो । म मधेशको ऋणी छु । प्रत्येक अप्ठ्यारो परिस्थितिमा मधेश र मधेशी जनतालाई भरोसा गरेर नै अगाडि बढ्ने गरेको छु ।’
जेन-जी आन्दोलनले पैदा गरेको नयाँ परिस्थितिमा काठमाडौं छोडेर पहिलो पटक बाहिर मधेश प्रदेशको महोत्तरीमा आएर संवाद गर्न पाउँदा उर्जा प्राप्त भएको उनले बताए ।
'राष्ट्रिय शक्तिहरुबीच सहमति र समझदारी आवश्यक छ,' सभामा सम्बोधन गर्दै दाहालले भने,‘सबैभन्दा पहिले त हाम्रो पार्टीभित्रै राम्रो एकताको आवश्यक छ । देशभित्रका सबै वामपन्थी र कम्युनिष्टहरुको बीचमा सहमति र समझदारीको आवश्यकता छ । सबै शक्ति एक हुनुको विकल्प छैन ।’ राष्ट्रको रक्षा र मुलुकमा उत्पन्न संकटको सामना गर्न सबैलाई एकजुट हुन माओवादीले नै पहिले अपिल गरेको छ,' उनले भने ।
राजनीति दलका नेताहरुलाई साक्षी राखेर राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी युवाहरुको पनि भावनालाई कदर गर्दै उनीहरुकै मागअनुसार अन्तरिम सरकार गठन भएको बताउँदै संविधानको रक्षा, जेन-जी युवाहरुको भावनाको कदर र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादीले भूमिका खेलेको उनले उल्लेख गरे ।
अभिभावकलाई दूश्मन ठान्नु गलत भएको भन्दै जेन-जी र माओवादी सँगै मिलेर चुनाव लड्ने उनले बताए । चुनाव हुन्छ र हुनै पर्छ भन्दै दाहालले सरकार र छिमेकीहरुसँग भएको संवादमा पनि नेपालको अवस्था सहज बनाउने विकल्प चुनाव नै भएको बताए ।
कार्यक्रममा दाहालले विभिन्न पार्टी परित्याग गरी आएका नवप्रवेशीलाई गम्छा लगाएर माओवादीमा स्वागत गरेका छन् ।-कान्तिपुर




