जनकपुरधाम । मिथिलाञ्चलको महान चार दिवसीय छठ पर्व अन्तर्गत आज नहा खा (नुहाएर खाने) विधि गरि मनाइदैछ ।
विगतमा मधेसी समुदायमा मात्र सिमित अहिले देशभर फैलिएको यस महान् पर्व छठ आजबाट विधिवत रूपमा शुभारम्भ भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रूपमा मनाइने चारदिने छठ पर्व जनकपुरधाम सहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ ।
छठ पर्वको पहिलो दिन आज व्रतालु (उपासक) हरूले नहा खा (नुहाएर खाने) विधि पूरा गरी छठ पर्वको शुभारम्भ गरिएको छ ।
छठ पूजाको दोस्रो दिन भोलि खर्ना मनाइन्छ । जसअन्तर्गत व्रतालुहरूले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरू गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरू खाने गर्दछन् ।
त्यस्तै यस पर्वको तेस्रो दिन व्रतालुहरूले दिनभरि आ–आफ्ना घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् ।
त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ । छठ पर्व मनाउन आज व्रतालुहरू नजिकको नदी, तलाउ र पोखरीमा छठ पूजाका लागि घाट अर्थात (पूजा गर्ने स्थान) बनाइरहेका छन् भने कतिपय ठाउँमा केराको थाम र लाखौँ रुपैयाँको पन्डाल तथा रङ्गीचङ्गी बत्तीहरूले सजाउने कार्य गरिरहेका छन् ।
छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। पण्डीत इन्द्रकान्त झाका अनुसार यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।
पहिले नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाउँदै आएकोमा अहिले संघीय राजधानी काठमाण्डौ सहित पहाडी समुदाय र मुश्लिक धर्माम्बलम्बीहरुले समेत मनाउन थालेको हुँदा यसको महत्व दिन प्रति दिन बढ्दो छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
भाकल पुरा भएपछि पछिल्लो तीन वर्ष देखि छठ पर्व मनाउन थालेको मिथिला नगरपालिका ६ ढल्केवर की बिमला देवी शर्माले भन्नुभयो । उहाँले छठको लागि सबै पूजाका सामग्री किनमेल गर्ने काम हिजो नै बजारबाट गरिसकेको बताउनुभयो ।
त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवा बजारका मुश्लिम धर्माम्बलम्बी मोहम्मद तौफिक राइनले भाकल पुरा भएपछि दुई वर्ष देखि छठ मनाउन थालेको बताउनुभयो । उहाँले आफै वर्त नबसेपनि प्रसादहरु सबै जाहो गरेर छिमेकी संग पुजा गराउने बताउनु भयो ।
चार दिवसीय छठमा कुन दिन के गरिन्छ
छठको पहिलो दिन–कार्तिक शुक्ल चतुदर्शी
नहान खान (नहाए खाए)
कार्तिक शुक्ल चर्तुदशीका दिन देखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन्– म अव जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।
छठको दोस्रो दिन–कार्तिक शुक्ल पञ्चमी
खर्ना
विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार ब्रतको पूर्वाभ्यास हो ।
छठको तेस्रो दिन–कार्तिक शुक्ल षष्ठी
छठ
छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुली झै सिंगारिएककक हुन्छ।
छठको चौथो दिन–कार्तिक शुक्ल सप्तमी
पारण
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।
विसर्जन
षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ ।
कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ । यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुई पटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधी विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहि आएको छ । छाला सम्वन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजीकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । छैठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।




