धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका एक युवकको शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार जनकपुर–ढल्केबर सडक खण्डको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया स्थित पूर्वपट्टि एक युवक मृत अवस्थामा फेला परेको हो।
शव क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ३५ वर्षीय आजिम कवारीको रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
बिहान सडक छेउमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाउँसाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का कार्य पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घटनाको प्रकृति प्रारम्भिक रूपमा स्पष्ट नभएकाले विस्तृत अनुसन्धान सुरु गरिएको छ ।
प्रहरीले घटनाको कारण पत्ता लगाउन घटनास्थल वरिपरिका सिसिटिभी फुटेज पनि संकलन गर्न थालेको जनाएको छ।




