महोत्तरी- महोत्तरीको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएका अत्याधुनिक डायलासिस मेशिन सञ्चालनमा नआउँदै बिग्रिएका छन्। करिब दुई वर्षअघि सरकारी बजेटमा खरिद गरिएका ती मेशिन अहिलेसम्म एकपटक पनि सञ्चालनमा आएका छैनन्।
मेशिन जडानका लागि आवश्यक जनशक्ति नहुँदा सेवा सुरु हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिकास साहले जानकारी दिए। उनका अनुसार मर्मत र परीक्षण नगरी लामो समय थन्किँदा मेशिनमा प्राविधिक समस्या देखिएको हो।
मधेस प्रदेश सरकार र अस्पताल प्रशासनको लापरबाहीका कारण लाखौं मूल्यका उपकरण प्रयोग नहुँदै बिग्रिएका भन्दै स्थानीयवासीले जिम्मेवारहरूलाई कारबाही गर्न माग गरेका छन्।

अस्पताल प्रशासनले जनशक्ति अभाव र मेशिन बिग्रिएको कारण डायलासिस सेवा सञ्चालन गर्न नसकेको जनाएको छ। जलेश्वरमा सेवा सञ्चालन नहुँदा मिर्गौला रोगीहरू जनकपुर वा भारतका निजी अस्पताल धाउन बाध्य छन्। स्थानीयले तत्काल मेशिन मर्मत गरी डायलासिस सेवा सुरु गर्न प्रदेश सरकारसँग माग गरेका छन्।




