काठमाडौं - पार्टीको १५ औँ महाधिवेशनको विषयलाई लिएर तीव्र विवादमा रहेको कांग्रेसमा पररस्पर विरोधी दुईवटा प्रस्ताव पेस भएका छन् । यसअघि महाधविशेनको मितिको विषय बैठकको एजेन्डामा समावेश नगरिएपछि नेताहरूले व्यक्तिगत ढंगबाट धारणा राख्दै आएका थिए । जसमा संस्थापनपक्ष र इतरपक्षबीच तीव्र विवाद भइरहेको थियो । अब दुई फरक-फरक मितिको प्रस्ताव बैठकमा पेस भएसँगै विवाद साँघुरिएर मितिकेन्द्रित भएको हो ।
कात्तिक १८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् भने त्यसलाई चुनौती दिँदै सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २६ देखि २९ सम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् ।
कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको पदावधि आगामी मंसिर मसान्तमा सकिँदै छ । म्याद थपेर अगाडि बढ्ने कि म्याद नथप्ने भन्ने विषयमा कांग्रेसभित्र संस्थापनपक्ष र इतरपक्षबीच तीव्र विवाद छ ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा इतरसमूह छ भने प्रतिनिधिसभा चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने संस्थापनपक्षको अडान छ ।
असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापनपक्ष र इतरपक्षबीच महाधिवेशनको मितिलाई लिएर तीव्र विवाद भएपछि दुईपटक बैठक रोकेर अनौपचारिक छलफलबाट सहमति जुटाउने प्रयास भएको थियो । तिहारको समयमा बैठक स्थगित गरिएको थियो । कात्तिक १३ गते फेरि सुरु भएको बैठक शुक्रबार, शनिबार, आइतबार र सोमबार स्थगित भएको थियो । योबीचमा गुटगत र सर्वपक्षीय छलफलहरू भएका थिए, तर सहमति हुन सकेन ।
गत बिहीबार बैठकमै महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेका थिए । तर, त्यसमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहमत नभएपछि थापा बैठकमै गएका थिएनन् । सोमबार पदाधिकारी बैठकमा समेत सहमति नुजटेपछि मंगलबार केन्द्रीय कार्यसमिति बैठक जारी राख्ने अवस्थामा दुवैपक्ष पुगेका थिए । त्यसअनुसार मंगलबार बैठक बस्यो ।
मंगलबारको बैठकको सुरुमै महामन्त्री थापाले पुस १६ देखि १९ सम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने मिति प्रस्ताव गरेको केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन् । उनका अनुसार बैठकमा प्रस्ताव राख्दै महामन्त्री थापाले फागुन २१ गतेको चुनावमा पार्टी नयाँ नेतृत्व र विचारसहित जानुपर्ने बताएका थिए । महामन्त्री थापाले बैठकमा भनेका थिए, ‘हामी दुई महामन्त्रीको बुझाइ हो – महाधिवेशन नगरी जाँदा पार्टीलाई प्रश्नै प्रश्नले घेर्छ, हामी उत्तर लिएर निर्वाचनमा जानै पर्छ । यसका लागि महाधिवेशन अपरिहार्य छ ।’
थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा महाधिवशेनमा उम्मेदवार नबन्दा महाधिवेशन गर्ने हो भने आफूहरू त्यसका लागि पनि तयार रहेको बताएका थिए । ‘यदि दुई महामन्त्री नलड्ने भन्दा तयार हो भने महाधिवेशन गरौं, तपाईँहरूमध्ये कोही जिम्मेवारी लिएर जानुहोस् । हामी त तयार छौं, के तपाईंहरू तयार हो ? तर, अब ढिलो गर्ने बेला होइन, निर्णय गर्ने बेला हो,’ थापाले बैठकमा भने ।
थापाले महाधिवेशनको मिति प्रस्ताव गरेपछि संस्थापननिकट सहमहामन्त्री महेन्द्र यादवले थापाको परस्पर विरोधी मिति प्रस्ताव गरे । उनले बैठकमा भनेका थिए, ‘२०८३ साल वैशाख २७, २८ र २९ गतेसम्म १५ औं केन्द्रीय महाधिवेशन गर्ने ।’
यसरी पेस भएका प्रस्ताव कसरी टुगो लगाइन्छ त्यो हेर्न बाँकी छ ।
यदि यी दुईवटै प्रस्तावलाई निष्कर्षमा पुर्याउन पार्टीको केन्द्रीय समितिमा मत विभाजन गरियो भने महामन्त्री थापाको प्रस्ताव पारित हुने अवस्था अहिले नै भने छैन ।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा आगजनी हुँदा खरानी भएको सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा महाधिवेशनको मितिबारे परस्पर विरोधी प्रस्ताव पेस हुँदा बानेश्वरमा भने विशेष महाधिवेशनको माग राखी हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूको भेला चलिरहेको थियो । भेलामा क्षेत्रीय सभापति, प्रदेश सभापतिहरूसमेत सहभागी थिए । नेताहरूले महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरको अवमूल्यन नगर्न संस्थापनपक्षलाई भेलाबाट चेतावनी दिए ।
कांग्रेसको विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ । त्यसअनुसार करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरी असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन् ।

सिटौला–थापा चर्काचर्की
सानेपा बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र महामन्त्री थापाबीच मंगलबार चर्काचर्कीसमेत भएको छ । एक केन्द्रीय सदस्यका अनुसार बैठकमा महामन्त्री थापाले महाधिवेशनको मिति प्रस्ताव गरेपछि सिटौला त्यसको विरोधमा उभिए । सिटौलाले बैठकमा भनेका थिए, ‘फागुन २१ गतेको चुनाव अगाडि महाधिवेशन गर्न सकिँदैन । यसमा मेरो विरोध छ । महामन्त्रीको स्पिडमा देश र पार्टी कुद्न सक्दैन ।’
सिटौलाले थापाको प्रस्तावको विरोध मात्र गरेनन्, सामाजिक सञ्जालमार्फत नेताहरूलाई गाली गरेको समेत आरोप लगाए । एक सदस्यका अनुसार सिटैलाले भनेका थिए, ‘पार्टीका नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली गरिएको छ । महामन्त्रीको सचिवालयले नेताहरूमाथि गाली गरेको छ । यसरी नेताहरूलाई गाली गर्ने सचिवालय बन्द गर्नुहोस् । विशेष महाधिवेशनको विरोध गर्यो भन्ने नाममा नेताहरूलाई गाली गर्न पाइँदैन ।’
सिटौलाले सचिवालय बन्द गर्न भनेपछि थापा झोक्किएका थिए । उनले बैठकको सभापतित्व गरिरहेका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भनेका थिए, ‘सभापतिज्यु बैठकमा नेताहरूको मानमर्दन गर्ने गरी प्रस्तुती भइरहेको छ । यसरी नै अगाडि बढ्ने हो भने म बैठकमा बस्न सक्दैन । सभापतिले रुलिङ गर्नुपर्यो ।’ उनले सिटौलालाई बोल्न नदिनसमेत माग गरेका थिए ।
त्यसपछि खड्काले बैठकको मर्यादा राख्न भन्दै सिटौलालाई आफ्नो भनाइ सच्याउन रुलिङ गरेको र त्यसपछि सिटौलाले ‘ठीकै छ, म मेरो भनाइ सच्याउँछु’ भनेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
दिलमान पार्खिन र कर्णबहादुर बुढाको फेरिएको टोन
महाधिवेशनको मितिलाई लिएर संस्थापनपक्ष र इतरपक्षबीच तीव्र विवाद भइरहेका बेला मंगलबार बसेको बैठकमा बोलेका दुई जना संस्थापननिकट केन्द्रीय सदस्यहरूको ‘टोन’ फेरियो । केन्द्रीय सदस्य दिलमान पाख्रिनले फागुन २१ गतेको चुनावमा अहिलेकै अवस्थामा जान नसकिने बताए । एक केन्द्रीय सदस्यका अनुसार उनले भनेका थिए, ‘हामी केन्द्रीय सदस्य केही होइनौँ भन्ने किसिमले यहाँ कुरा हुनु भएन । जेन जी आन्दोलनपछिको अवस्थालाई बुझेर निर्णय गर्नुपर्छ । चुनावमा नयाँ कुरा लिएर जानुपर्छ । निश्चित भएर जानुपर्छ ।’
संस्थापननिकट अर्का केन्द्रीय सदस्य कर्णबहादुर बुढाले पनि फागुन २१ गतेको चुनावमा अहिलेकै अवस्थामा जान नसकिने बताए । उनले भनेका थिए, ‘जेन जी आन्दोलनको अवस्था किन आयो भन्ने विषयमा पनि छलफल हुनुपर्छ । चुनावमा जाँदा निश्चित भएर जानुपर्छ ।’ यी दुई नेता संस्थापननिकट भए पनि उनीहरूले महाधिवेशनको मितिबारे इतरपक्षको लाइनमा बोलेका हुन् ।
१६४ सदस्यीय केन्द्रीय कार्यसमितिमा संस्थापनपक्षको प्रचण्ड बहुमत छ । २०७८ मा भएको महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका थिए । पदाधिकारीमा संस्थापनइतरपक्ष बलियो भए पनि सदस्यहरूमा देउवानिकट निर्वाचित भएका थिए । त्यतिबेला केन्द्रीय कार्यसमितिमा देउवानकिट करिब ८० प्रतिशत सदस्य रहेको नेताहरू बताउँथे ।
गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा सभापति देउवा र उनकी पत्नी आरजुमाथि कुटपिट भएको थियो । सक्त घाइते देउवा दम्पती कुटपटिको एक महिनापछि असोज २८ गते पार्टी कार्यालय सानेपामा सार्वजनिक भएका थिए । त्यसै दिन कार्यसमितिको बैठकबाट देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । देउवा दम्पती अहिले उपचारका लागि सिंगापुरमा छ ।




